मुख्य समाचार

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन लामो समयका लागि - प्रचण्ड

प्रान्तीय र सङ्घीय निर्वाचनसम्म दुई पार्टीबीचमा गठबन्धन - देउवा

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन लामो समयका लागि - प्रचण्ड

चितवनः प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र माओवादी केन्द्रको लामो समय टिक्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्र चितवनले भरतपुरमा आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै दाहालले गत वर्ष सरकारको नेतृत्व लिँदै गर्दा पूर्व र पश्चिमतर्फ डरलाग्दो स्थिति भएको बताउँदै उनले भने, 'यो गठबन्धनले मधेशलाई पहाडसँग र पहाडलाई मधेशसँग मिलाएर सबैलाई लिएर निर्वाचनतर्फ लैजाने वातावरण बनायो ।'

सम्बोधनमै कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'भावी प्रधानमन्त्री' भनेर सम्बोधन गरेका दाहलले भने, 'कांग्रेसले गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रले प्रचण्डजस्तो नेता नपाएको भए मुलुक यो अवस्थासम्म आउने थिएन ।'

भरतपुर महानगरपालिकामा गरिएको गठबन्धन संयोगको कुरा नभएर इतिहासको एउटा आवश्यकता भएको बताउँदै उनले भरतपुरलाई नेपालकै नमुना नगरपालिका बनाउने मात्रै होइन, दक्षिण एशियाकै नमुना समृद्ध महानगर बनाउन गठबन्धन गरिएको दाबी गरे ।

गठबन्धन दीर्घकालीन होस् - देउवा

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबुँदे सहमतिदेखि नै माओवादी केन्द्रसँग गठबन्धन हुँदै आएकोले नेपालमा स्थायी शान्ति र सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना गर्न दुई दलको महत्वपूर्ण भूमिका रहेको बताए । गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष दाहालको प्रयासबाट देशमा शान्ति सम्झौता भएको बताउँदै उनले भने, 'अब हिजोका कुरा गर्ने होइन, भोलिको सुनौलो भविष्य हेर्ने हो ।'

प्रान्तीय र सङ्घीय निर्वाचनसम्म दुई पार्टीका बीचमा गठबन्धन हुने भन्दै उनले संविधान कार्यान्वयनका लागि दुई पार्टी मिल्नाको विकल्प नभएको बताए ।भरतपुरमा मात्रै गठबन्धन नभएको बताउँदै उनले भरतपुरमा एकले अर्कालाई असहयोग गरे पोखरामा असर पर्ने भएकाले पनि नेतृत्व तहबाट भएको गठबन्धनलाई अक्षरशः पालना गर्न कार्यकर्तालाई निर्देशन दिए । सभाअघि महानगरका विभिन्न ठाउँबाट पदयात्रासहित दुई पार्टीका नेता कार्यकर्ता सभास्थल भरतपुर बसपार्कमा जम्मा भएका थिए ।

विशेष