खेल

उदयपुर गाईघाटमा कभर्ड हल निर्माण कार्य सुरु

उदयपुर गाईघाटमा कभर्ड हल निर्माण कार्य सुरु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरअगाडि दोस्रो कभर्ड हलको निर्माण कार्य सुरु भएको छ ।

जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा ब्याडमिन्टनलगायत अन्य खेलकुदमा चासो बढ्दै गएपछि पहिलेको कभर्ड हलमा ब्याडमिन्टन खेलाडीको सङ्ख्या अत्यधिक वृद्धि हुँदै जान थालेपछि दोस्रो कभर्ड हल निर्माण सुरु गरिएको जिल्ला खेलकुद विकास समिति उदयपुरले बताएको छ । राष्ट्रिय खेलकुद विकास परिषद्को दश लाख रुपैयाँ आर्थिक सहयोग र जिल्लाका विभिन्न सङ्घसस्था तथा खेलप्रेमीको आर्थिक सहयोग सङ्कलन गरेर करिब ३० लाखभन्दा बढीको बजेटमा सो नयाँ कभर्ड हल निर्माण कार्य सुरु भएको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताएका छन् ।

नवनिर्मित नयाँ कभर्ड हल अढाइ महिनाभित्र नै निर्माण कार्य सम्पन्न हुने कुरा पनि निर्माण व्यवसायी राजेशकुमार कार्कीको भनाइ छ । उक्त नवनिर्मित कभर्ड हलको गत फागुन महिनामा नै राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्यसचिव केशव बिष्टले शिलान्यास गरेका थिए । पुरानो कभर्डहलमा खेलाडीको क्षमताको चाप धान्न नसकेपछि अहिले नयाँ कभर्डहल व्यवस्थापन गर्नु परेको जिल्ला ब्याडमिन्टन सङ्घका पूर्व जिल्ला अध्यक्ष दीपक राई बताउँछन् ।

यसबाट अब उदयपुरको सदरमुकाम गाईघाट बोक्सेमा दुईवटा कभर्डहल हुने भएको छ ।

उदयपुर कभर्ड हल निर्माण

विशेष