देश

अरुलाई भोटको हतारो धनकलालाई गिट्ठीको चटारो

दीपबहादुर घर्ती

अरुलाई भोटको हतारो धनकलालाई गिट्ठीको चटारो

जाजरकोट: स्थानिय तहको निर्वाचन सुरुहुन १६ घण्टा मात्र बाँकी रहेको वेला अधिकांश मतदाताहरुलाई भोट हाल्न हतारो भैरहेको छ भने, कुशे गाउँपालीका–५ की धनकला परियारलाई भने जिल्ला सदरमुकाम खलंगामा गिट्ठी कुट्न चटारो भैरहेको छ ।

तीन छोरीकी आमा धनकला परियार जिल्ला सदरमुकाम खलंगामा डेरा गरि बस्न थालेको धेरै समय भैसकेको छ । छोरीहरुलाई विद्यालय पढाउन, कोठा भाडा तिर्न र विहान–बेलुका हात–मुख जोर्नका लागि निर्वाचनमा भोट हाल्न छोडेरै भएपनि गिट्ठी कुट्ने काममा ब्यस्त भएकी छन् ।

१९ बर्षपछि हुन लागि रहेको स्थानिय तहको निर्वाचनलाई आम नागरिकहरुले महाउत्सव र पर्वका रुपमा लिएर जीवनमा नयाँ स्फुर्ती देखाई रहेका बेला धनकला भने हातमा हतौडा लिएर विहान देखि बेलुका सम्म गिट्ठी कुट्ने काममा ब्यस्त भैरहेकी छन् ।

एक दिनको हानीले सय दिनको नोक्सानी हुने धनकलाको भनाई रहेको छ । गिट्ठी कुट्ने कामलाई छोडेर भोट हाल्न जादा आफु र आफ्ना छोरीहरु धेरै दिन सम्म भोकै बस्नु पर्ने, पढाईका लागि छोरीहरु स्कुल जादा ड्रेस विना, कपि कलम विना नै जानु पर्ने बाध्यता आउने उनको भनाई रहेको छ । भोट हालेर कुर्सीमा पुर्याएका नेताहरुले आफ्नो जीवनमा आएको समस्यालाई कहिले पनि नबुझ्ने उनको ठम्याई रहेको छ ।

त्यसैगरी बारेकोट गाउँपालीका अन्तरगत सक्लाका ऐनबहादुर परियारकी दिदीले पनि यसपाली हुन लागिरहेको स्थानिय तहको निर्वाचनमा भोट नहाल्ने वताएकी छन् । उनी पनि धनकला जस्तै जिल्ला सदरमुकाम खलंगामै गिट्ठी कुट्ने काममा ब्यस्त भएकी छन् ।

भेरी नगरपालीका–३ स्यालाकी अनिता परियार भने, गिट्ठी कुट्नु पर्ने बाध्यतामा रहेता पनि गिट्ठी कुट्ने स्थलवाटै भोली हुने निर्वाचनका लागि थाप्लेचौरमा रहेको मतदान केन्द्रमा गएर आफुले मन पराएको उम्मेदवारलाई मतदान गर्ने वताउदै आएकी छन् ।

स्थानिय तहको निर्वाचन जाजरकोट

विशेष