खेल

दुई खेल अगावै चेल्सी उपाधि विजेता , अघिल्लो सिजनको खराब प्रदर्शन पछि उत्कृष्ट कमब्याक

दुई खेल अगावै चेल्सी उपाधि विजेता , अघिल्लो सिजनको खराब प्रदर्शन पछि उत्कृष्ट कमब्याक

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले पराजित गर्दै चेल्सीले दुई खेल अगावै उपाधि सुरक्षित गरेको हो ।

चेल्सीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीको जितका लागि मिसी बात्सुईले गरेको गोल निर्णायक थियो ।
पहिलो हाफ बराबरीमा रोकिएको खेल चेल्सीले दोस्रो हाफमा पनि निकै संघर्ष गर्नु पर्यो । सबस्टिच्युटको रुपमा मैदान प्रवेश गरेको बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि जिताए ।

एन्टोनी कोन्टेको टोलीलाई विजयी गोल दिलाएका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका हुन् ।

बात्सुईको गोल पछि चेल्सीका समर्थक, खेलाडी तथा प्रशिक्षक निकै उत्साहित भएका थिए । प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ ।

चेल्सीले पाँच सिजनमा लिगको उपाधि जित्न सफल भएको छ । चेल्सीले यसअघि २००४/०५, २००५/०६, २००९/१० र २०१४/१५ सिजनको उपाधि जितेको थियो । यसअघिको सिजनमा खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भरि उत्कृष्ट खेल खेलेर उपाधि आफ्नो नाममा दर्ता गरेको हो ।

लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।

चेल्सीले लिगअन्तर्गत मंगलबार वाटफाेर्ड र २१ मे मा सन्डरल्याण्डसँग खेल खेल्ने छ । यससँगै च्याम्पियन्स लिगमा प्रवेश गर्ने पनि चेल्सीको पक्का भइसकेको छ ।

फुटबल उपाधि चेल्सी

विशेष