Technology

९९ मुलुकमा साइबर हमला, ब्रिटेनका अस्पतालहरु बढि प्रभावित

९९ मुलुकमा साइबर हमला, ब्रिटेनका अस्पतालहरु बढि प्रभावित

बीबीसी : माइक्रोसफ्ट सिस्टममा कमजोरी फेला पार्दै ह्याकरहरुले ९९ देशमा साइबर हमला गरेका छन् । माइक्रोसफ्टले गत मार्चमा आफ्नो कमजोरी पत्ता लगाएपनि त्यसको निराकरण गर्न नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतंककारीहरुविरुद्ध ह्याकिङ गर्न विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको बताइएको छ । यो त्रुटि उपयोग गर्दै आतंककारीहरुविरुद्ध ह्याकिङ गरिरहेको तथ्य विकिलिक्सले खुलासा गरेको थियो । जुन कमजोरी गत अप्रिलमा द स्याडो ब्रोकर्स नामक समूहले चोरी गरेपछि विश्वभरि साइबर हमला गर्न थाल्यो ।

अहिले संयुक्त अधिराज्य अमेरिका, चीन, रुस, स्पेन, इटली र ताइवानसहितका मुलुकमा साइबर हमला भएको छ । त्यहाँ भाइरसले कम्युटरमा प्रभाव पारेको विवरणहरु आएका छन् ।

साइबर सुरक्षा कम्पनी एभास्टले ‘वानाक्राइ’ वा अन्य नामका ‘र्यान्समवेयर’ का ७५ हजारवटा घटनाहरु देखिएको जनाएको छ ।

‘र्यान्समवेयर’ पीडितको उपकरणमा थाहा नपाइ ‘इन्स्टल’ हुन्छ । विवरणहरु संकलन गर्छ अनि निश्चित रकम नदिइञ्जेलसम्म विवरणहरु चुहाइदिने धम्कीसहितको सूचना उपकरणमा आउँछ । यही कारण ब्रिटेनस्थित अस्पतालहरु नराम्ररी प्रभावित भएका छन् ।

स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित ढुवानी कम्पनी फेडेक्स पनि प्रभावित छन् । रुसमा पनि त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कम्युटर भाइरसको पछिल्लो समस्यासँग जुझ्न कदमहरु चाल्न लागेको जनाएको छ । 

ह्याकर साइबर हमला माइक्रोसफ्ट सिस्टम

विशेष