मनोरञ्जन

ऋचाको यात्रा फर्स्ट लभदेखि आधा लभसम्म

कञ्चन न्यौपाने

ऋचाको यात्रा फर्स्ट लभदेखि आधा लभसम्म

नायिका ऋचा शर्माले रजतपटमा फस्र्ट लभबाट प्रवेश गरेकी हुन् । उनले पहिलो फिल्मबाट प्रसस्त चर्चा परिचर्चा बटुलिन् । करिब सात वर्षको चलचित्र क्षेत्रको अनवरत यात्रामा उनले धेरै सफल चलचित्रमा काम गरिसकेकी छिन् । ‘को आफ्नो’, ‘टलक जंग भर्सेस टुल्के’, ‘बाटोमुनीको फूल २’ यसका गतिला उदाहरण हुन् ।

ऋचाले बाल्यकालदेखि नै नायिका बन्ने लक्ष्य लिएको बताउँछिन् । उनले बाल्यकालको एउटा घटना सम्झिदै भनिन्, ‘म कक्षा ६ मा ढ्थेँ । शिक्षकले एक पटक तिमीहरु ठूलो भएपछि के बन्छौ भनेर हामी सबैलाई सोध्नु भयो । सबै साथीले डाक्टर, इन्जिनियर भन्ने जवाफ दिए । तर मैले चलचित्र नायिका बन्छु भन्ने जवाफ दिएँ ।’

झण्डै दुई दशक अगाडिको उनको सपना सुनेर कक्षाका सबै विद्यार्थीले एक पटक उनलाई अनौठो नजरले हेरे । उनको सपना सुनेर सबैजना गललल्ल हाँस्थे । कक्षामा हिरोइन बन्छु भनेर सपना साटेको १० वर्षपछि उनले आफ्नो सपनालाई यथार्थमा परिणत गरिन् फस्र्ट लभबाट । पहिलो फिल्म ‘फस्र्ट लभ’ को सफलतापछि उनलाई अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।

अभिनयमा माहिर उनी आफूलाई विभिन्न भूमिकामा उभ्याउँदै अभिनयलाई वास्तविकतामा ढाल्न मन पराउँछिन् । हिरोइन भनेर मेकअप मात्र लगाउने र फेसन मात्र गर्ने कुरामा उनको उति साह्रो ध्यान जाँदैन । बरु फिल्ममा ग्लामरस ऋचालाई भूलाएर पूर्ण रुपमा आफूलाई पात्रमा डुबाउने उनको बानी छ ।

त्यसो त उनलाई फेसन गर्न नआउने हिरोइनको ट्याग पनि दिइन्छ । तर, यस्ता ट्यागले उनलाई केही फरक पर्दैन किनभने उनी फिल्ममा गर्ने भूमिका र पात्रमा विश्वास गर्छिन् । अभिनयमा सक्षम हुँदाहुँदै पनि उनी अहिले चलचित्र निर्माण क्षेत्रमा हात हालेकी छिन् । उनले अभिनयका साथसाथै निर्माण गरेको चलचित्र हो ‘आधा लभ’ ।

संयोग पनि कस्तो परेको छ भने मायामा एक पटक असफल भएकी ऋचाको निर्माणमा बन्न लागेका फिल्मको नाम आधा लभ लाखिएकाले कतिपयले उनलाई संकाको दृष्टिले हेर्छन् । कतिले त प्रश्न नै तेस्र्याएका छन्, ‘कतै तपाईंको वास्तविक जीवनको घटनालाई केन्द्रित गरेर त फिल्म बनाइएको होइन ?’ ‘त्यस्तो होइन’ उनले सरल जवाफ दिन्छिन्, ‘कथा मन परेर बनाएको हो ।’

अभिनेता विनय श्रेष्ठसँगको पाँच वर्ष लामो प्रेमसम्बन्ध टुटेपछि बन्न लागेको फिल्मको नाम नै त्यस्तै भएपछि प्रश्न न आउनु स्वभाविक नै हो । तर, यस्ता प्रश्नले उनलाई फरक पार्दैन ।

अभिनेत्रीदेखि निर्मात्रीसम्मको यात्रामा पुग्न उनलाई वर्षौको मिहनत लाग्यो । सन् २००६मा र्याम्प मोडल हुँदै अभिनय र निर्मात्रीसमेत भइसकेकी ऋचालाई पहिलो पटक म्युजिक भिडियोमा स्वर्गीय निर्देशक आलोक नेम्बाङले पहिलो अवसर दिएका थिए । पहिलो सानो हुँदा सानो सपना र अहिले परिपक्व हुँदै गएपछि अनायासै सपनाका आकार पनि ठूलै हुँदै जाने उनी बताउँछिन् ।

विभिन्न फिल्ममा अभिनय गरिसकेर फिल्म निर्माणमा हात हाल्ने उनको पहिल्यैदेखिको चाहना थियो । यो चाहनालाई अभिनेता अर्पण थापाले सफल बनाउनमा मद्दत गरेका छन् । फिल्म ‘आधा लभ’ को कथा आफैंले लेखेका अर्पणले ऋचालाई निमात्रीको भूमिकामा काम गर्न आग्रह गरे । आग्रहमा मात्र सिमित भएर त उनी मान्नेवाला थिइनन् ।

फिल्मको कथा सुनिसकेपछि उनलाई यसमा त काम गर्नैपर्छ भन्ने इच्छा प्रकट भयो । यस्तो कथामा अहिलेसम्म पनि नेपालमा फिल्म नबनेकाले ऋचालाई उक्त कथामा काम गर्ने इच्छा पलाएर आयो । यस्तो कथामा अहिलेसम्म फिल्म बनेको छैन भन्नेवित्तिकै उनलाई प्रश्न सोझियो, कस्तो फिल्म ?

तब उनले बेलीविस्तार लगाइन्, ‘यो फिल्म एउटै अपार्टमेन्टमा बस्ने पाँचजना मानिसहरुको जीवनमा आधारित छ । मुख्य रुपमा यसले शहरी जीवशैलीलाई मध्यनजर गर्छ र हरेक मानिसका जीवनमा घटेका आधा अधुरा मायाप्रेमका कथालाई गाँसेको छ । यो कथा वास्ताविक जीवनमा घट्ने घटना भएको हुँदा कहीँ न कहीँ दर्शकहरुले फिल्मका पात्रहरुमा आफैँलाई पाउन सक्नुहुनेछ ।’

यो जीवनको आधा अधुरो प्रेममा कहीँ तपाईंको जीवनले त मेल खाएको छैन रु प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘यो कथा मसँग व्यक्तिगत रुपमा जोडिएको छैन । पूर्ण रुपमा नजोडिएपनि कसै न कसैको जीवनमा आधा अधुरा माया प्रेम त पक्कै हुन्छन् । मेरो पनि भयो । तर, मेरो व्यक्तिगत कथाभन्दा पनि दर्शकले त्यहाँ आफ्नै जीवनको कथा भेट्न सक्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’ फिल्ममा शहरी जनजीवनका वास्ताविक घटनालाई देखाइने छ ।

विशेषगरि अपार्टमेन्टमा बस्ने पाँच व्यक्तिको जीवनमा आधारित हुनाले यसले अपार्टमेन्टमा बस्ने मानिस र उनीहरुको वास्ताविकतालाई झल्काउँछ । यसकासाथै फिल्मले प्रेम गर्नको लागि उमेरले नछेक्ने कुरालाई समेत देखाउँछ । टिका पहारी र मिथिला शर्माबीचको प्रेम र अर्पण थापा र ऋचा शर्माबीच फिल्को ट्रेलरमा प्रेम देखाइएको छ ।

यही जेठ २६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘आधा लभ’ को प्रचारकोलागि निर्माण टोली अघि बढिसकेका छन् । कलेजका विद्यार्थीलाई मध्यनजर गराएर फिल्मको प्रचार हुने ऋचाले बताइन् ।

सपनाको सागर हुँदै महासागरमा छिर्ने मन गरेकी ऋचाको अब फिल्म स्कुल खोल्ने ठूलो सपना छ । कसैले सफलताको शुत्र सोधिहाल्यो भने उनी भन्छिन्, ‘आफूले गरेको काममा सन्तुष्ट हुनु नै मेरो लागि सफलताको शुत्र हो ।’

विशेष