समाज

'यस पटक मत सदुप्रयोग होस्'

'यस पटक मत सदुप्रयोग होस्'

काठमाडौँ: काठमाडाैँ महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी भएकी छिन् ।

स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम अघि बढ्ने विश्वास उनले राख्छिन्। बबरमहलस्थित नेपाल टेलिकमको मतदान केन्द्रमा मतदान गरेकी उनले आफूले हालेको मतको सदुपयोग होस् भन्न चाहन्छिन् । ‘यसअघि पनि स्थानीय निकायमा मतदान गरेको थिएँ’ उनले भनिन्, ‘तर त्यति बेला सुदपयोग भएन तर अब भने जननिर्वाचित प्रतिनिधिले जनादेश सदुपयोग गरेर विकास निर्माणमा ध्यान दिनुपर्छ ।’

यस्तै पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गरेका बुद्धनगरका राजन बुर्लाकोटी पनि आफूले हालेको मत सदुपयोग हुने होस् भन्न चाहन्छन्। स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले जनप्रतिनिधिले यहाँको विकासनिर्माण गर्नुपर्ने बताउँछन । उनले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने परिदृश्यका रुपमा समेत रहेको औल्याउँदै राजनीतिक दलले २० वर्ष नभई प्रत्येक पाँच पाँच वर्षमा स्थानीय तहको निर्वाचन गरेर स्थानीय तहको विकास निर्माण गर्नुपर्ने उनले बताए ।

यसैगरी ८५ वर्षीय भक्तबहादुर महर्जन स्थानीय निर्वाचनमा दलभन्दा पनि स्थानीय विकास गर्ने व्यक्तिलाई मतदान गरिएको बताउनुहुन्छ । ‘स्थानीय निर्वाचनमा दलभन्दा व्यक्ति हेर्ने हो’, उनले भने, ‘त्यसले टोलको विकास गर्नसक्ने व्यक्तिलाई भोट दिएँ ।’ उनी यसअघि मतदान गरे पनि जनप्रतिनिधिले भनेजस्तो सदुपयोग गर्न नसकेको भन्दै यस पटक भने आफूले हालेको मत सदुपयोग हुनेमा आशावादी छन् । 

विशेष