आइपिएलः प्लेअफमा मुम्बई र पुणे भिड्दै
इण्डियन प्रिमियर लिग (आइपिएल) को १० वर्ष पुरा भएसँगै मंगलबार प्लेअफको खेल हुँदै छ । प्लेअफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्स र दोस्रो स्थानमा रहेको राइजिङ पुणे सुपरजाइन्ट्स मैदानमा उत्रिनेछन् ।
किङ इलेभेन पञ्जावालाई ९ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको पुणेले प्लेअफमा मुम्बईसँगको भेट पक्का गरेको हो । मुम्बई भने दिल्ली डेयरडेभिल्सलाई पराजित गर्दै लिगको तीन खेल अगावै प्लेअफमा प्रवेश गरिसकेको थियो ।
यस सिजनको दाबेदार मानिएको टोली मुम्बई र दोस्रो स्थानमा रहेको पुणेबीचको खेल निकै रोमाञ्चक हुने देखिएको छ । यस सिजनको लिगमा मुम्बईले पुणेविरुद्धको दुई खेलमै हार व्यहोरेको छ । यद्यपी मुम्बईले उच्च स्कोरहरुको खेल पनि सजिलै जितेको छ ।
दुई टोलीबाट विजयी हुने सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले इलिमिनेशन राउन्डअन्तर्गत तेस्रो र चौथो प्लेअफबाट विजयी हुने टोलीसँग खेल्नेछ ।
मुम्बई १४ खेलमध्ये १० मा विजयी हुँदै २० अंकका साथ शीर्ष स्थानमा रहयो । यस्तै, पूणेले ९ खेल जितेर १८ अंक बटुलेको थियो ।
तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबादले ८ खेल जितेर १७ अंक बनाउन सफल रह्यो भने चौथो स्थानमा रहेको कोलकाता नाइटराइडर्सले ८ खेलमा विजयी हुँदै १६ अंक बनाउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनायो ।