१० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त
आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणामनुसार १० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त भएको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो ।
विभिन्न कारणले मतदान स्थगन भएका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका, दोलखाको मेलुङ गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, कालीकोटको नरहरिनाथ गाउँपालिका र कालिका गाउँपालिकामा मतपत्र च्यातिएको, मतदान केन्द्र तोडफोड भएको, निर्धारित मतपत्रभन्दा फरक मतपत्र
परेको, कर्मचारीमाथि आक्रमण भएको र झडप भई मृत्यु भएको समेतका कारणले मतदान स्थगन भएका हुन् ।
हिमाली जिल्लाका केही मतदान केन्द्रको मतपेटिकास्थल मार्गबाट सङ्कलन गर्न कठिन भएकाले आज बिहान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ । ती स्थानको मतगणना आजैदेखि सुरु हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा मतगणना भइरहेको जानकारी आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त भएको छ ।
स्थानीय तहको निर्वाचन निर्वाचन आयोग