मुख्य समाचार

अधिकृतकाे दस्तखत नभएका मतपत्र फेला

अधिकृतकाे दस्तखत नभएका मतपत्र फेला

कीर्तिपुर नगरपालिका–२ को मतगणनाकाक्रममा मतदान अधिकृतको दस्तखत नभएको १० ओटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ ।

सो विषयमा दलहरुबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो ।

मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नम्बर–२ को गणनाकाक्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटि भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नम्बर–३ र ४ को गणना गरिएको जानकारी दिए ।

कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

यसैबीच, वडा नम्बर–१ मा एमालेको समूह विजयी भएको छ । वडाध्यक्ष पदमा नेकपा एमालेका हर्ष महर्जनले ८०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हीरालाल महर्जनले ६५९ मत प्राप्त गरेका छन् ।

सदस्यमा एमालेका क्रमशः सुमन पोखरेल, धनबहादुर महर्जन र सुनिता महर्जन निर्वाचित भएका छन् । सो वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन ।

 

कीर्तिपुर

विशेष