मुख्य समाचार

सरकार दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारी गर्दै

सरकार दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारी गर्दै

काठमाडाैँः पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्षसहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ। यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र सातमा दोस्रो चरणको निर्वाचन हुँदैछ।

गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पहिलो चरणको निर्वाचनमा मतदातालाई सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकाय सफल भएको बताए। पहिलो चरणका सुरक्षा कमजोरी सच्याउँदै अब दोस्रो चरणको सुरक्षा तयारीमा मन्त्रालय लागेको उनले बताए।

पहिलो चरणको निर्वाचनमा कालीकोट, दोलखा, धादिङ र तनहुँमा हिंसात्मक घटनामा पाँचजनाको मृत्यु भए पनि अन्य जिल्लाको हकमा खासै ठूलो घटना भएनन्।

सुरक्षा निकायको कमजोरीभन्दा दलका कार्यकर्ताका कारण सुरक्षा व्यवस्थापनमा समस्या आएको गृहप्रवक्ता पन्थीको भनाइ छ। उनले भने, 'दलहरुमा जसरी पनि आफूले जित्नुपर्ने भन्ने अस्वस्थ प्रतिस्पर्धाले केही ठाउँमा समस्या सृजना गर्यो।' केन्द्रीय तहमा सुरक्षा योजना बनाई क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ।

पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा समेत सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको प्रवक्ता पन्थीको भनाइ छ। निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको र त्यो सफल भएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए। दोस्रो चरणको निर्वाचनका लागि पनि सोही किसिमले सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ।

विशेष