देश

जाजरकोटमा शैक्षिक शिवीर सञ्चालन

दीपबहादुर घर्ती

जाजरकोटमा शैक्षिक शिवीर सञ्चालन

जाजरकोट: जिल्लाका ७ वटै स्थानिय तहमा शैक्षिक शिवीर सञ्चालन गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयको नेतृत्वमा शैक्षिक क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्था तथा सरोकारवालाहरुको सहभागितामा यही जेठ महिनामा शैक्षिक शिवीर सञ्चालन हुने भएको हो ।

शुक्रवार बसेको जिल्ला शिक्षा सञ्जालको पाँचौं नियमित बैठकले जिल्लाका ७ वटै स्थानिय तहमा शैक्षिक शिवीर सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लाको शैक्षिक विकासका लागि पाँच बर्षे शैक्षिक योजना निर्माण गर्नुका साथै जिल्ला भर शैक्षिक मेलाहरु सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिए । जिल्लाभर विद्यालय तहमा बुक कर्नर र घर तहमा पढाई कुना निर्माण गर्ने योजनालाई तिब्र रुपमा अगाडी बढाईएको बताउदै शिक्षा अधिकारी सिंहले भने–'भक्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा १० प्रतिशत मत बदर हुनुले पनि जाजरकोटमा प्रभावकारी शिक्षा हुन नसकेको कुरालाई प्रष्ट गरेको छ, साक्षर जिल्ला घोषणा भएको जिल्लामा १० प्रतिशत मत बदर हुनु भनेको निकै दुखद कुरा हो ।'

जिल्लाका सबै ठाउँमा नमुना शिक्षक, नमुना विद्यालय, नमुना कक्षा, नमुना विद्यार्थी, नमुना अविभावक बन्न बनाउनमा जोड दिनु पर्ने बताउदै जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले शैक्षिक शिवीर सञ्चालन गर्नु परेको वताए । उनले लामो समय विद्यालय बिदा गरेर पढाई सञ्चालन गर्न निकै कठिन हुने प्रक्रियाको अन्त्य गर्नु पर्नेमा जोड दिए । विद्यालय तथा कक्षा कोठामा हुने विभिन्न खाले विभेदलाई निर्मुल गर्नु पर्नेमा सिंहले जोड दिए ।

त्यसैगरी उक्त बैठकमा शिक्षण पेशामा रहेर सक्रिय राजनीति गर्ने, विद्यालय समयमा मदिरा सेवन गरि कक्षा कोठामा सहभागी हुने शिक्षकहरुलाई कडा कारवाही गर्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जोड दिए ।

जिल्ला शिक्षा सञ्जालको पाँचौं नियमित बैठकले नमुना विद्यालयको स्तरमा विकास गर्नका लागि जिल्लाका २२ वटा विद्यालयलाई छनौट गरेको छ । छनौट गरेका विद्यालयहरुमा भेरी त्रिवेणी मावि रिम्ना, भगवती निमावि गँगटिया, चन्द्रज्योति निमावि दोकाना, दिपेन्द्र मावि भुर, भगवति मावि कुदु, नेरा मावि स्यापी, मालिका प्रावि सुङगुरखाल, जनप्रतिभा प्रावि बालुवा, रामोदय मावि जेवा, कालिका मावि स्वडारी, महाँदेव मावि राँकाडाँडा, जनज्योति प्रावि गाँडेसाल, राम मावि खलटाकुरा, सुर्य प्रावि चैते, प्रेम ज्योति प्रावि पंक, सरस्वती प्रावि कार्कीगाउँ, जनकल्याण प्रावि गुम्थले, मालटाकुरा मावि तम्ती, रामचन्द्र प्रावि पाँचकाटिया, जनता मावि पैंक, त्रिभुवन प्रावि ताँत्र, नेरा मावि औलगुर्ता रहेका छन् ।

बैठकले यार्सागुम्बा संकलनमा विद्यार्थीहरु सहभागी भएर विद्यालय बन्द हुन नदिनका लागि यार्सागुम्बा संकलनमा सहभागी हुनवाट विद्यार्थीहरुलाई रोक्न जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालीका कार्यालयलाई अनुरोध गरेको बैठकका अध्यक्ष सेभ द चिल्ड्रेन जाजरकोटका संयोजक मनोज सुनुवारले जानकारी दिए ।

शैक्षिक मेला

विशेष