मदन भण्डारीको मृत्य रहस्य पत्ता लाग्ने रहेछ तर एमालेले मदनको मृत्युलाई राजनीतिको अस्त्र मात्रै बनाएछ
– किशोर श्रेष्ठ
अमेरिका त्यत्रो शक्तिशाली देश तर त्यहींका राष्ट्रपति जोनएफ केनेडी मारिए । पाँच दशक कट्न लाग्दा पनि त्यसको रहस्य अझै खुलेको छैन । उक्त हत्याकाण्डसंग सम्बन्धित थुप्रै पात्र समयक्रममा एकपछि अर्को गरी मारिए । सूचना,सुविधा र प्रविधिको कमीका कारण होला त अमेरिका सो हत्याकाण्डको अनुसन्धानमा चुकेको ? त्यसरी नै मदन भण्डारीका ड्राइभर अमर लामा पनि रहस्य गर्भमै बोकेर मारिए।
उनी एमालेका कार्यकर्ता थिए तर कारवाहीबाट बच्न काँग्रेसमा प्रवेश गरे,गिरिजाप्रसाद कोइराला हत्याकाण्डको छानविन आयोग बनाउन सहजै तयार भएनन् बल्लबल्ल दरवारको समेत दवावमा झारा टार्न अनिल आयोग त बन्यो तर त्यसको चर्को विरोधपछि पुनःअर्को आयोग बन्यो । यसरी यो प्रकरणमा शुरुदेखि नै राजनीति घुस्यो ।
मदन भण्डारीको देहावसानपछिको आन्दोलन र चुनावले एमालेलाई ठूलो पार्टी बनायो । शोकलाई शक्तिमा बद्ल्ने भनियो तर दोषी पत्ता लगाउने,छानबीन गर्ने्तिर गम्भीरतापूर्ण ध्यान गएन । त्यसबेला धेरैले भन्थे,यसमा भारतको हात छ । अमेरिकाको संलग्नता छ । तर सिंगै देशलाई दोष लगाएर कसलाई
समात्ने ? देशलाई त समात्न सकिंदैन ! यसमा पन्छिने काम मात्र भयो । बीपी कोइराला २०१६ सालमा चीन गएका थिए,फर्कनासाथ राजा महेन्द्रद्वारा अपदस्थ गरिए । वीरेन्द्रले पनि चाइना कार्ड प्रयोग गर्दा त्यो हविगत भयो । मरिचमानको नियति त्यही । ज्ञानेन्द्रले सार्कमा चिनलाई भित्र्याउँदा २४० बर्षको राजतन्त्र गयो । प्रचण्डले बेइजिंग ओलम्पिकको चक्करमा कटवाल काण्डसंगै बालुवाटारबाट झिटिगुन्टा कस्नुपर्यो । केपी ओलीलाई त्यसरी नै लखेटियो ।
। मदन भण्डारीको ज्यान पनि चीनबाट फर्केको एक हप्तापछि गएको हो । मदन चीनबाट फर्केपछि प्रचण्डसँग फोनवार्ता भएको थियो । उहाँले भन्नुभयो(“म भोलि पोखरा जान्छु, चितवन हुँदै पूर्व्तिरबाट फर्केपछि भेटौं ल !“ २००६ सालमा बनेको कम्युनिष्ट पार्टी एउटाले अर्कोलाई निषेध नगरी अगाडि बढेको छैन । पुष्पलाललाई सोत्तर नपारी मोहनविक्रमहरु अघि बढेनन् । चौथो महाधिवेशनलाई निषेध नगरी मोटो मशाललाई फलिफाप भएन । सानातिना देखि ठूलासम्म वाम समूहलाई निमिट्यान्न नपारी माले शक्तिशाली बनेन । एमालेलाई तोडफोड नगरी माओवादी मोटाएन ।
।
२०५० सालमा मदन भण्डारीको देहावसान भएपछि २०५१ सालमा माओवादी जनयुद्धमा गयो । कमल चौलागाँई जीवित छन् । पम्फा भुसाल पनि राजनीतिमा सक्रिय छन् । पाटनढोकास्थित जनमोर्चाको कार्यालयमा चुकुल लगाएर कमललाई प्रचण्डले भनेको कुरा पनि बाहिर आउनुपर्छ । कसैलाई आरोप लगाएको होइन । देखेको,भोगेको र बुझेको कुरा भन्दैछु । किनभने मदन भण्डारीको कतिपय यात्रामा साथै हुने मान्छे हुँ । बीएको जाँच परेकाले मात्र त्यो दिनको यात्रामा सहभागी थिइन । म मदन भण्डारीसँग दिल्ली गएको छु । त्यहाँ हरकिसन सिंह सुरजितले भनेका कुराको साक्षी छु । मदन भण्डारीले चाहेको भए प्रचण्डजस्तै भारतमा सेल्टर लिएर राजनीति गर्न सक्थे तर त्यस्तो गरेनन् । नेपालमा आएर संगठन बनाए ।
मदन भण्डारीको राम्रो मित्रता चिनियाँसँग थियो । राजदूत साओ जियाँग्चुसँग खानपिन हुन्थ्यो । बागबजारको पार्टी कार्यालय उद्घाटनमा आउने बिदेशीमध्ये उनी नै थिए । जनादेशमा टीएन प्रधानको नक्कली नाम हालेर,मदनका प्रतिद्वन्द्वी सीपी मैनालीहरुको प्रायोजनमा दासढुँगा काण्डलाई
अन्तैतिर ट्वीस्ट गरियो । स्रिंखलाबध्द रुपमा ती कथाहरु जनादेशमै किन छापिए ? त्यसले पनि शंका जन्माएको छ !कहिलेकाहीं प्रचण्ड कमरेड भन्छन् “मलाई मदन भण्डारी बनाइदिने डर छ ।“,त्यसो हो भने छर्लंग पारुन् न त उनले मदनलाई कसले,कसरी सिध्याए ? मदन भण्डारी बनाउने शिकारीको पर्दाफास गरेर लौ अनुसन्धानमा सहयोग पुर्याउन् । मदन बितेको २२ बर्ष बित्दा पनि उनले ल्याएको सिद्धान्तलाई कुनै नेताले सीधै काट्छु,हटाउँछु भन्न सकेका छैनन् । उनैको उर्जाले एमाले पार्टी फेरि बौरिएको छ र पनि नेताहरु यो घटनाको बारेमा अचेल किन बोल्दैनन् ? पटकपटक सत्तामा आए पनि किन वास्तविकता खोल्दैनन् ? २०२९ सालको फागुन २१ गते इलाम जेल सार्ने नाउँमा सुखानीको जंगलमा पाँचजना झापाली क्रान्तिकारी मारिए । त्यसयता बर्षेनी फागुन २१ गते एमालेले सहिद दिवस मनाउन थाल्यो तर अचेलचाहिं छाडिदियो ।
बरु माओवादीले त्यही तिथिलाई कपी गरेर आफ्नो सहिद सप्ताह बनाइदियो । त्यसैले भन्छु,एमालेको लिगेसी लिन्छु भन्ने,बहुदलीय जनवाद भन्न नसकेर एक्काईसौं शताब्दीको जनवाद जोड्ने,राजनीति शान्तिपूर्ण प्रतिस्पर्धाको गर्ने,मदन भण्डारीको कुरा गर्ने प्रचण्डले यसको रहस्य बाहिर ल्याउनमा मध्दत गर्नुपर्छ । ल एमालेले त गर्न सकेन । चासो दिएन रे,माओवादीले गरी देओस् । मदन भण्डारीमाथि सुरक्षा थ्रेट छ भन्ने कुरा मैले बारम्बार उठाएको हुँ । तर त्यसप्रति प्रदीप नेपालबाहेक अरुले ध्यान दिएनन् । उत्तर कोरियाली राजदूत आन हुइजोंगलाई भनेको थिएँ कि रुपनारायण श्रेष्ठलगायत केही साथीलाई ट्रेनिंगमा पठाइदिनु । तर ट्रेनिगंमा त के पठाउनु,मदनको मृत्युमा स्रध्दान्जलि चढाउन पशुपति आर्यघाटमा समेत आएनन् । दासढुगां दुर्घटनास्थल हेर्दा कसैले पनि भन्न सक्दैन कि यहाँ यस्तो दुर्घटना हुनसक्छ ।
ड्राइभर बस्नेतिर नदी छ,नेताहरु भित्तातिर छन् तर छेउको ड्राइभर सडकमा,कुनाका यात्रु त्रिशुलीको गहिराइमा । यस्तो कसरी संभव छ ? घटनाक्रम हेर्दा यसको बारेमा गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटा घटना पत्ता लगाउन एउटै सूत्रको पछाडि लागेर पुग्दैन ।यसका विभिन्न आयामको बिश्लेषण गरिनुपर्ने हुन्छ । बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न !
(किशोर श्रेष्ठको फेसबुकबाट)