भगवान बुद्धको मृत्यु सुँगुरको मासु खाएर होइन च्याउ खाएका कारण भएको थियो (भिडियोसहित)
‘शारदा पौडेल’ बौद्ध धर्ममा नेपाली विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयकी प्राध्यापक पौडेलको दृष्टिमा भगवान बुद्धको रुप आम मानिसले बुझे भन्दा फरक छ । भगवान बुद्धलाई सर्वज्ञानी मात्रै भन्ने कि घरपरिवारलाई दुःख दिने कपटी पनि ? बुद्धको नाम के थियो ? उनको जन्मको वास्तविकता के थियो ? यस्ता अनेकन विषयहरु छन् जो धेरै प्रकाशमा आएका छैनन् । यस्ता तथ्यसँगको साक्षात्कार प्रा.डा. शारदा पौडेलमार्फत गर्ने प्रयास गरिएको छ । उहाँले भगवान बुद्धबारे व्यक्त गर्नुभएका तथ्यहरु यस्ता छन्ः
जन्म बारे विवाद
बुद्धको जन्मलाई लिएर अहिले पनि विवाद छ । कसैले उनी ५६३ बिसीमा जन्मिएको भन्छन् भने नेपालको हिसाबले बुद्धको जन्म ६२३ बिसीमा भएको हो । वैशाख पूर्णिमाको दिन जन्मिएका उनको त्यस दिनसँग जीवनका तीनवटा घटना जोडिएका छन् । उनको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमकै दिन भएको थियो ।
जन्मस्थल
उनको जन्म लुम्बिनीको एक उद्यानमा भएको थियो । संस्कार र परम्पराअनुसार पहिलो सन्तानको उसको मावलमा हुनु पर्छ भन्ने थियो । जसअनुसार मायादेवी ‘देवदह’ अर्थात माइती जाने क्रममा लुम्बिनीमा बसेकी थिइन् । लुम्बिनीकै पुस्तरणीय भन्ने पोखरी नजिकै उनले बुद्धलाई जन्म दिइन् ।
शिद्धार्थ नाम नै छैन
चुनावी प्रक्रियाअुनसार बुद्धका बाबु शुद्धोधन गणराज्यका राजा भएका थिए । उनका सुपुत्रका रुपमा सर्वार्थ शुद्ध (गौतम बुद्ध्) को जन्म भएको थियो । बौद्ध शास्त्रिय ग्रन्थहरुमा हेर्दा बुद्धको नाम शाक्य सिंह, सर्वार्थ सिद्ध, भन्ने भेटिन्छ । तर शिद्धार्थ भन्ने कतै छैन । कुनै ग्रन्थहरुमा शिद्धार्थ छैन, यद्यपि यो नाम चर्चित भएको छ । यसको एक कारण हिटलरका सल्लाहकार हर्मन हेजको ‘शिद्धार्थ’ भन्ने विश्वचर्चित उपन्यास पनि हो कि भन्ने आधारहरु छन् ।
जन्म पछिका अनौठा घटना
सुन्दा विश्वास गर्न गाह्रो हुन्छ । तर विश्वास गर्नुपर्ने हुन्छ । बौद्ध गन्थहरुमा उल्लेख भएअनुसार बुद्ध गर्भमा प्रवेश गर्नु भन्दा अघि नै मायादेवीले सपनामा सेतो हात्ती देखेकी थिइन् । बौद्ध ग्रन्थहरुमा उल्लेख भएअनुशार बुद्धले मायादेवीको कोखबाट शुद्ध तरिकाले जन्म लिएका हुन् र जन्म पछि सात पाइला हिँडेका हुन् । उनको जन्म पछि वैभवहरुको आगमन भएको भनाइ छ । जन्मँदा उनलाई आशिर्वाद दिन ब्रम्हा, इन्द्रसममेत आएको विश्वास गरिन्छ ।
जन्म पछि बुद्धले ‘आफू सर्वज्ञानी हुँ र आफ्नो यो अन्तिम जन्म हो’ भनेको बौद्ध ग्रन्थहरुमा उल्लेख छ । उनको जन्म भएको सात दिनमा मायादेवीको मृत्यु भएको थियो ।
राजा शुद्धोदन र रानी मायादेवीको विवाह भएको २० वर्षसम्म कुनै सन्तान जन्मेका थिएनन् । सन्तान जन्मने आशामा शुद्धोदनले आफ्नै साली महाप्रजावतीसँग पनि विवाह गर्छन् । बुद्ध जन्मेको केही दिनमा महाप्रजावतीबाट पनि नन्द नामक पुत्रको जन्म हुन्छ । तर महाप्रजावतीले नन्दको स्याहारको जिम्मा धाइआमालाई दिन्छिन् र आफूले बुद्ध स्याहार्छिन् ।
बुद्धको जन्मपछि उनी स्वामी हुन्छन् की बुद्ध हुन्छन् या सम्राट हुन्छन् भनेर दुइवटा भविष्यवाणी गरिएका थिए । बुद्धमा बैराग उत्पन्न नहोस भनेर शुद्धोदनले संसारिक बनाउन सुखभोगको प्रबन्ध गर्न थाल्छन् । तर बुद्धमा बाल्यकालदेखि नै वैराग्यता र चिन्तन थियो भन्ने आधारहरु छन् । बुद्धचरित आदि ग्रन्थहरुमा बुद्ध बाल्यकालदेखि नै रोगी, बृद्ध, शव र योगी बारे गहिरो चासो राख्ने भन्ने उल्लेख छ ।
त्यही कुराहरुले उनलाई घर छोड्न बाध्य बनाएको थियो । बुद्धको पूर्वजन्मका कथा पढ्दा उनी बोधीसत्व भए पनि उनले विवाह नै गरेको देखिन्छ । यसबाट साधना गर्न विवाहले रोक्दैन भन्ने कुरा पनि पुष्टि हुन्छ । त्रिपिटक ग्रन्थमा बुद्धकी पत्नी पनि साधिका थिइन भन्ने उल्लेख छ ।
भिक्षुले विवाह गर्नु हुँदैन
योगीले आफ्नो ब्रम्हचर्या धारण गर्न सकेन भने त्यहाँबाट च्युत हुन्छ र विवाह गर्छ । योगी नै भइराख्न भिक्षुले विवाह गर्नुहुँदैन । बुद्धले विवाह गरे, एक पुत्रको जन्म पनि भयो । त्यसपछि उनले गृह त्याग गरेर ब्रम्हचर्यको अभ्यास गरे । ६ वर्षको कठिन तपस्याबाट उनले बुद्धत्व प्राप्त गरेको देखिन्छ । उनले विवाह गरे, त्यसपछि त्याग गरे । फेरि विवाह गरेनन् । भिक्षु हुनुभन्दा अघि नै विवाह गरिएको छ भने त्यसलाई बुद्ध धर्म दर्शनअनुसार गलत मानिदैन ।
भगवान बुद्ध पीडक कि महाज्ञानी ?
यशोधरा सामान्य महिला थिइनन् । उनी पनि साधना गर्दै आएकी साधिका थिइन् । उनी राजपरिवारकी छोरी÷ बुहारी थिइन् । उनको बुद्धसँग १६ वर्षको उमेरमा विवाह भएको थियो र बुद्धले उनलाई २९ वर्षको उमेरमा राहुल जन्मिएपछि छोडेका थिए । यशोधरालाई छाड्दा यसअर्थमा अन्याय देखिदैन किन भने उनी सामान्य परिवारकी छोरी थिइनन् । आफ्नो पतिले सबैको लोककल्याणका लागि काम गर्छन् भने एक जनाले त्याग गर्दा फरक पर्दैन । यशोधराको त्यागलाई मानवकल्याणका लागि ठीक मान्न सकिन्छ । त्यसमाथि यशोधरा आफैले पनि वैराग्य प्राप्त गरिसकेकी थिइन् ।
बुद्धको ज्ञान प्राप्ति
शरिरमा हाड र छालामात्रै हुने गरी जब उनले ध्यान गरे तब पनि उनको उद्देश्य पूरा भएन । त्यसबखत चिन्तन मनन गर्ने क्रममा उनले सानो हुँदा आफ्नै राज्यमा रुखमुनी बसेर गर्दाको ध्यानमा शान्ति पाएको सम्झिन्छन् । यसरी केही नखाएर शरीर सुकाए निर्वाणको प्राप्त हुँदैन भन्ने निर्णयमा उनी पुग्छन् । उनले सामान्य भोजन गरेर साधना गर्न सकिन्छ भनेर भिक्षुलाई सुनाउँछन् । बुद्धको यस्तो कुरा सुनेर पञ्चवर्गीय (पाँच जना भिक्षुहरु) ले बुद्धलाई छाडेर हिँडछन् । ती भिक्षुहरुलाई बुद्ध योगीपथबाट च्यूत भएको लाग्छ ।
बुद्धत्व कसरी प्राप्त ?
त्यो बेला बुद्धले शरिर सुकाएर मात्रै ज्ञान प्राप्त नहुने बुझिसकेका हुन्छन् । पञ्चवर्गीय भिक्षुहरुले पनि छाडेर हिँडिसकेपछि एक दिन उनी अनुमा नदीको किनारमा भएको एक ठूलो वृक्षमुनी ध्यान गर्न थाल्छन् । त्यो वृक्षलाई स्थानीय जनताहरुले वनदेवताको निवासस्थल भनेर पुजा गर्ने गर्थे । जहाँ सुजता नामकी कन्याले पहिले नै भाकल राखेकी हुन्छिन् । सुजताले आफ्नो विवाह भएर पुत्रकै जन्म भएमा वनदेवतालाई खीर चढाउने भाकल गरेकी थिइन । उनको त्यो भाकल पूरा हुन्छ । खीर चढाउनु अघि वनदेवताको निवासस्थल सफा गर्न, लिपपोत गर्न पूर्णा नामकी दासीलाई पठाउँछिन् । पूर्णाले त्यो वृक्षमुनी बुद्ध ध्यानमा लिन भएको देखेर साच्चै वनदेवता प्रकट भएको भनेर खबर सुजता कहाँ पुर्याउँछिन् ।
बुद्धको मुहारमा देखिने तेज र आभाबाट सुजता अत्यन्त प्रभावित हुन्छिन् । उनले वनदेवता ठानेर बुद्धलाई खीर दिन्छन् । तर बुद्धले आफू एक साधक मात्रै भएको बताउँछन् । सुजताले खीर खाइदिन धेरै आग्रह गरेपछि बुद्धले त्यो खीर खान्छन् । त्यो दिन वैशाख पूर्णिमाको दिन थियो । खीर खाएकै दिन बुद्धले बुद्धत्व प्राप्त गर्छन् । उता सुजताले पूर्णालाई दासताबाट मुक्त गरेर छोरी बनाउँछिन् ।
ज्ञानको प्रचार
ज्ञान प्राप्तपछि बुद्धले त्यसलाई पटक पटक परीक्षण गर्छन् । पटक पटक ध्यान गरेर त्यो ज्ञानको सत्यता जाँच गर्छन् । हरेकपटक एकै नतिजा आउँछ । त्यसपछि ज्ञान प्रचार गर्ने कि पनर्वाणमा जाने भन्ने दोधार हुन्छ । त्यही बेला ब्रम्हदेवले भगवान बुद्धलाई ज्ञानको प्रचार गर्न तीन पटक आग्रह गर्छन् । आफूले पाएको ज्ञान सुरुमा आफ्ना गुरुहरु उद्धक रामपुत्र र आडारकलामलाई सुनाउन चाहन्छन् । तर उनीहरुको निधन भइसकेको हुन्छ । त्यसपछि उनी पञ्चवर्गीय भिक्षुहरुर्ला सुनाउन सारनाथ जान्छन् ।
बुद्धको मृत्यु
भगवान बुद्धको मृत्यु ८० वर्षको उमेरमा भएको थियो । आफ्नो मृत्यु हुँदै छ भनेर उनलाई थाहा भइसकेको थियो । त्यतिबेला उनी कुशीनगरमा थिए । उनले सुंगुरको मासु खाएर अपच भएर मृत्यु भएको भन्ने विवाद छ । च्याउको एक प्रजाती सुकर मद्धभ पनि हुन्छ । त्यही च्याउ खाएर भगवान बुद्धको निधन भएको थियो । सुकर मद्धभलाई सुँगुर भनेर अथ्र्याएको पनि पाइन्छ । तर वास्तविकता सुँगुर नभएर च्याउ थियो ।
महापुरुष बुद्ध
महापुरुषको जन्म साधारण हुँदैन । बुद्ध पनि महापुरुष थिए । उनको जन्मको विषयलाई कसैले पनि अविश्वास गरेको देखिँदैन । गर्न पनि हुँदैन किनभने उनका जति पनि उपदेश छन् ती सत्य हुन् भने जन्मका कुराहरु कसरी अविश्वास हुन सक्छन् र ?
(प्रा. डा. शारदा पौडेलसँग गरिएको कुराकानीमा आधारित)