स्वास्थ्य

नवजात शिशुको उपचारमा भरतपुर सरकारी अस्पताल अब्बल

नवजात शिशुको उपचारमा भरतपुर सरकारी अस्पताल अब्बल

चितवन: भरतपुर सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापनासँगै चितवन जिल्लामा नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ ।

काठमाडौंको थापाथली प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार नवजात शिशुमध्ये पाँचदेखि १० प्रतिशतलाई शिशु सघन उपचार कक्ष आवश्यक पर्छ । यसकै अभावमा विगतमा कतिपयको अकालमै ज्यान जाने गरेको थियो ।

अस्पतालमा रहेको शिशु सघन उपचार कक्षमा आवश्यक सम्पूर्ण औषधि निःशुल्क हुन्छ । निजी अस्पतालमा शैय्याको मात्रै दैनिक पाँच हजार पर्छ भने औषधि जोड्दा दैनिक रु १० हजारको हाराहारी खर्च हुन्छ ।

डा अधिकारीका अनुसार अर्थाभावकै कारणले गर्दा शिशु सघन उपचार कक्षमा उपचार गराउन नसकेर शिशुको मृत्यु हुने गथ्र्यो । सरकारी अस्पतालले सो सेवा दिएसँगै समय नपुग्दै कम तौलमा जन्मिएका शिशुहरुको मृत्यु हुनबाट बचेको उनले बताए । अस्पतालका वरिष्ठ बालरोग विशेष डा युवानिधि बसौलाका अनुसार गत एक वर्षमा अस्पतालको शिशु सघन उपचार कक्षमा पाँच सय ४० नवजात शिशुले उपचार पाएका छन् । तीमध्ये ३४८ बालक र १९२ बालिका छन् ।

डा बसौलाका अनुसार सो अवधिमा ४८७ जनालाई चिसोबाट बचाउने काम गरिएको तथा ३५ जना कमलपित्त भएकालाई सेकेर उपचार गरिएको छ । कम समयमा जन्मिएका आठ जनालाई आवश्यक तापक्रममा इन्कुभेटर र १० जनालाई मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनका अनुसार महिना नै नपुगी जन्मिएका ४७, कम तौलका ५८ र कमलपित्त भएका ३५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।

रगतमा संक्रमण भएका, सास फेर्न गाह्रो भएका, मस्तिष्कको संक्रमण भएका, जन्मिँदा निस्सासिएका र जन्मिँदै मुटु रोग भएका शिशुको पनि सघन उपचार कक्षमा राखेर उपचार गरिएको डा बसौलाले बताए ।

अस्पतालले एक वर्षमा ३८३ जनाको पूर्ण रुपमा उपचार गराएको, ८३ जनालाई बाहिर पठाएको, अभिभावकका आग्रहमा २१ जना घर गएको र २७ जना जबर्जस्ती अभिभावकले लगेको जनाएको छ । उपचारमा रहेकामध्ये २६ जना अर्थात् ४ दशमलब ८१ प्रतिशतको मृत्यु भएको डा।बसौलाले बताए ।

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा विश्व बगालेले यहाँको शिशु सघन उपचार कक्ष कान्ति बाल अस्पतालपछिको नेपालकै सुविधासम्पन्न भएको जिकिर गरे । उनका अनुसार सो कक्षमा दुई–दुई इन्कोभेटर र भेन्टिलेटर छन्, जसबाट तापक्रम मिलाएर कृत्रिम शवासप्रश्वास दिन सकिएको छ ।

कक्षमा आठ सामान्य शैय्या छन् । कक्षमा श्वासप्रश्वास गाह्रो हुँदा उपचार गर्न सिपिएसी उपकरण जडान गरिएको छ । डा।बगालेले अरु उच्च गुणस्तरको उपकरण भित्राएर दक्ष जनशक्ति थप्न सके यस क्षेत्रका शिशुको उपचार सहज गर्न सकिने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले सघन उपचार कक्षको अभावमा अकालमै धेरै शिशुको ज्यान जाने गरेकामा अस्पतालले बचाउन सफल भएको बताए । अस्पतालमा जन्मिएका सबै नवजात शिशुलाई सुविधा दिन अझै नसकिएको बताउँदै उनले उच्च गुणस्तरको उपकरण र जनशक्ति भित्राएर सेवा दिने सोचमा अस्पताल रहेको जानकारी दिए ।

विशेष