खेल

सर्वाधिक राशीको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजबाट, विजेताले २० लाख पाउने

सर्वाधिक राशीको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजबाट, विजेताले २० लाख पाउने


जेठ ९ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

काठमाडौंको कीर्तिपुरस्थित खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र पूर्वाञ्चल टिम भिड्नेछन् । लिग कम नकआउटको आधारमा हुने पहिलो संस्करणको प्रधानमन्त्री कपमा पाँचवटा क्षेत्रीय टिमसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रत्येक समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । नेपालमा करिव तीन वर्षपछि पहिलो पटक एक दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन भने काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीले गर्नेछ । यो प्रतियोगितालाई राखेपले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको आसन्न खेलको छनोट र तयारीको रुपमा समेत लिएको छ । नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हङकङमा हुनेछ ।

PM cup Cricket

विशेष