समाज

बेलिब्रिज झिकियो, यात्रु मारमा

बेलिब्रिज झिकियो, यात्रु मारमा


जेठ ९ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष सञ्चालन हुँदै आएको यातायात सेवा सुनकोसी नदीको बेलिब्रिज खोलेपछि सोमबारदेखि छ महिनाका लागि पूर्णरुपमा बन्द हुन पुगेको छ । 

उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङको लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज सुनकोसी नदीमा पानीको बहाव बढेसँगै सोमबारदेखि खोल्ने काम भएको कुरा गाईघाट–दिक्तेल सडक कार्यालय, उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताए ।

वर्षा लागेसँगै सुनकोसी नदीको बहाव बढेको कारण बेलिब्रिज बगाउने सम्भावना भएका कारण छ महिनाका लागि बेलिब्रिज खोलिएको इन्जिनियर यादवले जानकारी दिए । पचास मिटर लम्बाइ रहेको उक्त बेलिब्रिज गत मङ्सिर महिनामा जडान गरिएको थियो । अब छ महिनापछि हिउँदको मङ्सिर महिनामा मात्र पुनः बेलिब्रिज जडान गरिने पनि गाईघाट–दिक्तेल सडक कार्यालयले बताएको छ ।

सुनकोसीमा बेलिब्रिज खोलिएसँगै अब उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङसम्म प्रत्यक्ष यातायात सेवा बन्द हुन पुगेपछि पहाड मधेस आवतजावत गर्ने सयौँ यात्रु भने १ सय ५८ किलोमिटरको यात्रा पैदल हिँड्न बाध्य हुनुपरेको यात्रु बताउँछन् ।

यस्तै, यस क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधनसमेत बन्द गर्न पर्दा यातायात व्यवसायी र मजदुरको रोजीरोटीमा समस्या आएको एक यातायात व्यवसायी कुमार मगरले बताए ।

स्मरण रहोस, २०५१ सालमा निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण भइनसक्दा यस क्षेत्रका यातायात व्यवसायी र यात्रुले प्रत्येक वर्ष वर्षायाममा कष्ट भोग्दै आउनु परेको छ ।

Belibridge

विशेष