खेल

प्रधानमन्त्री कप : नेपाल पुलिस ७ विकेटले विजयी

प्रधानमन्त्री कप : नेपाल पुलिस ७ विकेटले विजयी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई ७ विकेटले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा सुदूरपश्चिमाञ्चलले दिएको १७१ रनको लक्ष्य पुलिसले २४ दशमलव ३ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो ।

पुलिसको जितको लागि अमित श्रेष्ठले सर्वाधिक ७५ रनको योगदान थिए । त्यस्तै दिलिप नाथले ४० रन र दिपेन्द्र सिंह ऐरीले नटआउट २७ रन बनाए । सुदूरपश्चिमाञ्चलका भीम सार्की, विकास अग्री र सागर भण्डारीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४८ ओभर ४ बलमा अलआउट हुँदै १७० रन जोडेको थियो ।

सुदूरपश्चिमाञ्चलका लागि ज्ञानेन्द्र कुँवरले सर्वाधिक ४९ जोडे । भीम सार्कीले २८, सन्तोष भाटले २५ तथा रोशन नेपालीले २१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । पुलिसका सुशील कँडेलले ५ तथा ललित भण्डारीले ३ विकेट लिए ।

यो जितसँगै समूह बि मा रहेको पुलिसले २ अंक जोडेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्रसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक खेलमा जित्ने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

 

 

प्रधानमन्त्री कप क्रिकेटः नेपाल पुलिस क्लब

विशेष