मनोरञ्जन

‘छक्का पञ्जा २’ सँग अनमोल केसीको ‘कृ’ भिड्ने, कसले मार्ला बाजी ?

‘छक्का पञ्जा २’ सँग अनमोल केसीको ‘कृ’ भिड्ने, कसले मार्ला बाजी ?


जेठ ११ । अघिल्लो वर्षको ब्लकबस्टर हिट ‘छक्का पञ्जा’ ले दर्शकहरुको अपार माया र साथ पायो । सय दिन मनाएर नेपाली फिल्म उद्योगको सबैजसो किर्तिमानी तोडेको फिल्मको सफलताले त्यही नामको अर्को फिल्म ‘छक्का पञ्जा २’ जन्माउने भएको छ ।

अर्को रमाइलो कुरा त के छ भने, अहिलेका युवाका ढुकढुकी अभिनेता अनमोल केसीको फिल्म ‘कृ’ पनि सँगै भिड्ने भएको छ । अनमोलले फिल्म ‘गाजलु’ पछि एक वर्ष पछि फिल्मा कमब्याक गर्न लागेका हुन् । सुपरस्टारको दर्जा पाएपछि धेरै निर्माता पैसा बोकेर उनको ढोका ढक्ढक्याउन गएपनि अनमोलले एक वर्षमा एउटा फिल्ममा मात्र काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसो त अभिनय गर्न नआउने र लुक्सले मात्र हिट भएको भन्ने ट्याग पाएका अनमोलले फिल्म ‘कृ’ बाट आफूलाई अब्बल साबित गर्न लागि परिरहेको खबरहरु पनि बेलाबेलामा आइरहने गर्छन् ।

भदौ ८ गतेलाई रिलिज डेट लक गरिएको अनमोल केसी स्टारर फिल्म ’कृ’ यो मिति छाडेर असोज ११ गते ’छक्का पन्जा २’ सँग लड्ने लगभग फाइनल भएको बताइएको छ । हाल यी दुवै फिल्मको छायांकन धमाधम भैरहेको छ । निर्माण अगावै रिलिज डेट फाइनल गरिएका यी दुई फिल्मले लगभग एक महिनाको अन्तरमा हलमा लाग्ने गरी रिलिज कन्फर्म गरेका थिए तर अब यस्तो लाग्दैछ कि यी दुवै फिल्मको लडाई एकैदिन हुँदैछ ।

अनमोल र आदिती बुढाथोकीको मुख्य भूमिका रहेको ’कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बनेको यो फिल्मलाई अभिनेता भुवन केसी र सुवास गिरीले संयुक्तरुपमा तयार गरेका हुन् ।

त्यस्तै, दीपाश्री निरौला निर्देशित फिल्म ’छक्का पन्जा २’ मा स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल र केदार घिमिरे लगायत कलाकारको मुख्य भूमिका छ ।

फिल्म ‘छक्का पञ्जा’ ले पाएको माया र साथ र युवाका ढुकढुकी रहेको अनमोल केसीले गर्दा यी दुवै फिल्म यस वर्षकै प्रतिक्षित फिल्ममा दारिएका छन् ।

 

विशेष