देश

नवनिर्वाचित अध्यक्ष मोटरसाइकल दुर्घटनामा घाइते

नवनिर्वाचित अध्यक्ष मोटरसाइकल दुर्घटनामा घाइते

धादिङः निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ शुक्रबार मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्।

गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ।

घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं बाहिनीमा प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरिएको गल्छी गाउँपालिकाका एमाले नेता नरेश खतिवडाले जानकारी दिए।

घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ। अध्यक्ष श्रेष्ठको करङको हड्डी भाँचिएको र मोटरसाइकल चालक पौडेलको हातको पाता खुस्केको अवस्थामा उद्धार गरिएको थियो।

श्रेष्ठ गल्छी गाउँपालिका–४ को चिनियाँखर्क, ज्यामिरचौर, कार्कीडाँडाका मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने र मतदाताको सुझाव लिने कार्यक्रममा गाउँ गएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन्। 

Accident

विशेष