देश

पर्सामा चुनावी चहलपहल बढ्दै

पर्सामा चुनावी चहलपहल बढ्दै

पर्साः दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित भएका छन्। वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ–आफ्ना उम्मेदवारलाई स्थानीय तहको चुनावमा उम्मेदबार बनाउने कसरत गरिरहेका छन् भने कुन दलबाट को–को उम्मेदवार हुने पार्टीभित्र चर्चा परिचर्चासमेत हुन थालेको छ।

संविधान संशोधनगरी आ–आफ्नो माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राखेका मधेसवादी दलका नेता तथा कार्यकर्ता पनि चुनावबारे जोड घटाउमा लागेका छन्। जनमानसमा चासोको विषय बनेको वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट अजय द्विवेदी, ओमप्रकाश शर्मा, दिना गुप्ता, विजय सर्राफको नाम चर्चामा छ भने नेकपा एमालेको तर्फबाट सुन्दरप्रसाद कुर्मी, निर्मला देवकोटा, चिरन्जीवी आचार्य, पिताम्बर शर्माको नाम चर्चामा छ ।

नेकपा माओवादी केन्द्रबाट हालसम्म कसैको नाम चर्चामा आएको छैन। राप्रपाबाट प्रदीप सुवेदी, राजपाबाट पूर्व प्रमुख विमल श्रीवास्तवको नाम चर्चामा छ।
प्रदेश नं–२ को आर्थिक नगरी वीरगन्जमा दोस्रोचरणको स्थानीय तहको निर्वाचनको लागि दलहरु आन्तरिक गृहकार्यमा लागेका छन्। पर्सा जिल्लामा एक महानगरपालिका, एक नगरपालिका र १२ गाउँपालिका छ। यति बेला पर्सामा राजनीतिक दल मात्र नभएर स्थानीय नागरिक अगुवादेखि उद्यमी व्यवसायीसम्म स्थानीय निर्वाचनका लागि एजेन्डामा बहस गर्न थालेका छन्।

जिल्लामा रहेको फोहर व्यवस्थापन, सडक विस्तार एकिकृत सहरी व्यवस्थापन वीरगन्ज नगरलाई हरितनगर बनाउने जस्ता एजेन्डा राजनीतिक दलहरुले उठाउँदै आएका छन्। 

विशेष