समाज

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

जेठ १२ । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक सम्बन्ध–विच्छेद दिएका छन् ।

भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् ।

मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह ९विवाह० सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक मुस्लिम परम्पराअनुसार सम्बन्ध–विच्छेद गरेका थिए । मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ ।

दुलाहासहित जन्ती गाउँलेको कब्जामा

विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् । केटी आफूलाई मन नपरेकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रुस्तम आलमको भनाइ छ । जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्र–भलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।

केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलाहा, उनका भाइ र दुईवटा भारतीय गाडी नछाड्ने निर्णय गरेका छन् । बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताए । ‘केटा पक्ष वा केटी कसैले उजुरी गरेका छैनन् । मैले पनि पत्रकारहरूबाटै जानकारी पाएको हो,’ उनले भने, ‘उजुरी नआएपछि कारबाही गर्ने कुरा पनि भएन ।’ उनले स्थानीय प्रहरी चौकीलाई गाउँमा झैझगडा हुन नदिनु भनेर आफूले निर्देशन दिएको बताए ।

नयाँ पत्रिका

badhyeta ma bihe garda

विशेष