समाज

राष्ट्रले दिन लागेको पदक प्रचण्ड पुत्रले अस्विकार गरे

राष्ट्रले दिन लागेको पदक प्रचण्ड पुत्रले अस्विकार गरे


जेठ १५ । नेकपा माओवादीका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले सरकारले दिएको सुप्रबल जनसेवाश्री पदक नलिने घोषणा गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा सरकारले उनलाई दिने निर्णय गरेको उक्त पदक नलिने घोषणा प्रकाशले सोमबार विहान फेसबुकमार्फत गरेका हुन् । ’गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु । पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन ।

गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु’ उनले भनेका छन् ’यो देशका लागि अझै मैले धेरै काम गर्न जरुरी छ । सुझाव, सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

हाल प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव समेत रहेका प्रकाशलाई सरकारी पदक दिइएकोप्रति सामाजिक सञ्जालहरुमा आलोचना पनि सुरु भएको थियो ।

विशेष