‘मेरो राष्ट्रका जनताप्रति अत्यन्त कृतज्ञ छु’ (भिडियोसहित)
जेठ–१६ । राष्ट्रकवि माधवप्रसाद घिमिरे आफ्नो एक महाकाब्य सिध्याउने तयारीमा छन् । राष्ट्रकविको निधनको गलत खबर सामाजिक सञ्जालमा भाइरल भएपछिको भेटमा घिमिरेले त्यस्ता धेरै रोचक कुराहरु गरे । घिमिरेको उमेर ९९ को हाराहारीमा छ । तर पनि उनी आफ्नो पछिल्लो महाकाव्य पूरा गर्ने तयारीमा छन् ।
आफ्नै मृत्युको खबर आफन्तले सोमबार बिहान सुनाउँदा उनले व्यक्त गरेको भावना नेपाल आजले सोमबार नै सार्वजनिक गरिसकेको छ । राष्ट्रकविसँग झन्डै ४५ मिनेट भलाकुसारी गर्दा उनले धेरै विषय सुनाए जुन रमाइला र चाखलाग्दा पनि छन् ।
कुराकानीको सुरुमै उनले भने, ‘महाकाव्य सिध्याउन वैशाखदेखि घरबाट बाहिर जाँदिन भनेर बसेको छु । तर म शिक्षा परिषदको अध्यक्ष छु । हिजो मिटिङ थियो, जानै पर्यो । फर्केर आउँदा थाकेँ ।’
म कल्पनामा हराउँथे
अरु कविजस्तै म (माधवप्रसाद घिमिरे) पनि कल्पनामा हराउँछु । पहिले पहिले त झन धेरै डुब्थे कल्पनामा । प्रकृति हेरेर रमाउँथे । त्यो बानी अहिले पनि छ । म प्रकृतिसँग सम्वाद गर्छु । कस्तो जीवन्तता छ । कस्तो हरियाली छ । आ हा ।
बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइनँ
मलाई प्रकृतिसँग असाध्यै प्रेम छ । म प्रकृतिप्रेमी हुँ । मलाई मेरो देशको हिमाल हरेक बिहान हेर्न मन लाग्छ । तर म पाउँदिन । पहिले पहिलो घरको छतमा गएर हेर्थे । हिजो आज त हिमाल पनि हेर्न पाइन्न । अरु घरहरुले छेकिदिए ।
१६ वर्षको उमेरदेखि योग गरिरहेको छु
आफैलाई बिगार्ने चिन्ता गर्नु हुँदैन । आफैलाई बिगार्ने चिन्तालाई दुष्चिन्ता भनिन्छ । यस्तो चिन्ता गर्नु हुँदैन । म कहिले पनि नराम्रो चिन्तन गर्दिनँ । म सधै सकारात्मक सोच राख्दछु । अर्को कुरा भनेको सिर्जनशिलता हो । मैले कुनै कविताले सिर्जना गर्दा भने जस्तो नहुँदा प्रशव बेदना जस्तो हुन्छ । राम्रो भयो भने अपार आनन्द हुन्छ । यस्तो सिर्जनशिलताले जीवन सुखमय बनाउँछ । मैले १६ वर्षदेखि योग सिकेको हो । त्यो योग अहिले पनि म गर्छु । अहिले भित्रै मात्रै केन्द्रीत हुन्छ ।
आजैमा राति के देखेँ सपना
आज राति मैले म मरेको सपना देखिनँ तर अरुले देख्नु भएछ । आज बिहान (१५ जेठ) उठ्दा पो सबैले तपाईको आयु बढ्यो भन्छन् । म त छक्क परे । बडो आश्चर्य पनि भयो । किनभने कसैले पनि आफू मरेको खबर सुन्न पाउँदैनन् । म मरेको खबरले सारा नेपाली जनता तरंगीत भएछन् । मलाई यति धेरै माया गर्दा रहेन मानिसहरुले । मेरा यति धेरै शुभचिन्तक रहेछन् । धेरै खुसी लाग्यो । म मरेको दिन कस्तो हुने रहेछ भन्ने म आफैले जीवीत हुँदै थाहा पाए । धेरै आश्चर्र्य लाग्यो । त्यो भन्दा पनि बढी त म मेरो राष्ट्रका जनताप्रति अत्यन्त कृतज्ञ छु । किनकी मेरो मृत्युको खबरमा धेरै मानिसहरु दुःखी हुनुभएछ । यो भन्दा बढी एउटा कविले पाउने अर्को ठूलो सम्मान के हुन सक्छ ?
अब तपाई अहिले मकहाँ आउनु भयो । जीवीतै रैछ भन्ने थाहा पाएर मेरो चिन्ह राख्न पाए हुन्थ्यो भनेरै आउनु भयो । हैन त ? (एकछिन हाँसो)
मैले त श्री ३ पनि देखे राष्ट्रपति पनि
मैले त राणाहरुको शासन पनि देखे । राणाविरुद्धको आन्दोलनमा ००७ सालमा पनि हिँडे । देशमा प्रजातन्त्र आयो । पञ्चायत आयो । फेरि बहुदल आयो । अहिले गणतन्त्र आयो । एकपछि अर्को गरि व्यवस्था आयो, गयो । सधै सधै लरबरिएको हाम्रो देशको व्यवस्था । यो राम्रो होइन । यस्तो हुनु हँुदैन । तर साहित्य आफ्नो सुरमा अगाडि बढीरह्यो ।
नेता हो, १० वर्ष झगडा नगर
हाम्रो देशमा ठूलो भैचालो गयो । अरु देशमा पनि जान्छ । कुनै देशले भैचालोपछि ठूलो उन्नती गरेका छन् । हामीले पनि चुनौतीलाई विकासमा परिवर्तन गर्नु पर्छ । योजनाबद्ध सफल कार्यक्रम लागू गर्नु पर्छ । अब नेताहरुले १० वर्ष झगडा नगरी देश बनाउनु पर्छ । अनि बन्छ देश । यो देशलाई उठाउने काम नेताहरुले गरुन । उनीहरुले नगरेको भन्दिनँ म । किनभने उनीहरुले पनि कति लामो समय जेलनेल भोगेका छन् । देशले अलिअलि विकास पनि गरेको छ । तर भनेजति हुन सकेको छैन ।
Madhav Prasad Ghimire