स्वास्थ्य

स्वास्थ्य बोर्ड स्थापना हुने, यस्ता छन् बोर्डका कामहरु

स्वास्थ्य बोर्ड स्थापना हुने, यस्ता छन् बोर्डका कामहरु

 जीवनस्तर प्रवद्र्धन र स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन गर्न सरकारले राष्ट्रिय स्वास्थ्य बोर्डको स्थापना गर्ने भएको छ। संविधानको धारा, २९६ अनुसार निर्माण भइरहेको नयाँ स्वास्थ्य विधेयकको मस्यौदामा बोर्ड स्थापना गर्ने व्यवस्था राखिएको छ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय स्वास्थ्य विधेयक, २०७४’ मा जनस्वास्थ्यको बहुक्षेत्रीय आयामका नीतिगत मार्गनिर्देशन गर्न तथा कार्यान्वयनको अनुगमन गर्न बोर्ड स्थापना हुने उल्लेख छ। बोर्डले स्वास्थ्य सुरक्षा, सम्बर्धन र सुधार सम्बन्धी नीति निर्धारण गर्ने, बहुक्षेत्रीय नीति योजना तथा कार्यान्वयनको पुनरावलोकन गरी सम्बन्धित क्षेत्र, प्रान्तीय सरकार तथा स्थानीय निकायलाई आवश्यक मार्गनिर्देशन गर्ने, स्वास्थ्य सेवाको क्षेत्रमा समानुपातिक वितरणको आधारमा प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्ने, राष्ट्रिय स्वास्थ्य योजना र नीति तर्जुमाका लागि मार्गदर्शन गर्नुका साथै सोको ढाँचा निर्धारण गर्ने काम गर्नेछ।

बोर्डले जनस्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय रणनीति, ढाँचा वा नियमनहरुलाई नेपालमा लागू गर्न सम्बन्धित क्षेत्र वा निकायलाई आवश्यक मार्ग निर्देशन तथा अनुगमन गर्नेछ। यस्तै, विदेशी सरकार, अन्तरसरकारी वा गैरसरकारी संघ–संगठनबाट प्राविधिक वा वित्तीय सहयोग प्राप्त गर्ने, त्यस्तो सहयोग प्राप्त गर्ने शर्त तथा त्यस्ता शर्त पालना गर्ने संयन्त्र सम्बन्धमा आवश्यक मार्गनिर्देशन दिने, रोगहरुको रोकथाम, प्रवर्धनात्मक कार्य लगायत जनस्वास्थ्यमा सुधार सम्बन्धी परामर्श दिने काम पनि गर्नेछ।

स्वास्थ्य मन्त्रीको अध्यक्षतामा गठन हुने बोर्डमा स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, कानुन, कृषि र वातावरण मन्त्रालयका सचिव वा सहसचिव, स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष, उपभोक्ता तथा न्याय कानुनका क्षेत्रमा काम गरेका व्यक्ति सदस्य रहनेछन्। स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासनका प्रमुख विशेषज्ञ सदस्य सचिव रहने प्रस्ताव विधेयकमा गरिएको छ।

विधेयक अनुसार बोर्डमा उपभोक्ता, न्याय कानुनको क्षेत्रमा काम गरेका व्यक्तिलाई सदस्यका रुपमा स्वास्थ्य मन्त्रीले मनोनित गर्नेछन्। मनोनित सदस्यको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि अर्को एक कार्यकालका लागि पुनः मनोनित हुन सक्ने विधेयकमा उल्लेख छ। बोर्डको सचिवालय स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन हेर्ने महाशाखा हुनेछ।

 

 

विशेष