मनोबैज्ञानिकहरु भन्छन्, संगीत सुन्दा फाइदै फाइदा
संगीत स्नायुविज्ञानमाथि अनुसन्धान गरिरहेका मनोवैज्ञानिक ड्यानियल जे लेभिटिनका अनुसार मानसिक र शारीरिक स्वास्थ्यका लागि संगीत चिकित्साका परिणाम रोचक छन् ।
अनुसन्धानका अनुसार यसले रोगप्रतिरोधात्मक क्षमतामा सकारात्मक असर पर्छ । यसले तनाव दिने हर्मोन कम गराउँछ ।
संगीतका अतिरिक्त आमाको लोरीलाई पनि महत्त्वपूर्ण मानिएको छ । लोरी सुन्ने बानी परेको बच्चा शान्त र सजग हुन्छ । बच्चालाई निद्रा लाग्छ र ऊ घरिघरि रुँदैन । संगीत थेरापीले गर्भवती महिलाको तनाव पनि कम हुन्छ ।
संगीत सुन्ने बानीले आत्मा र शरीरका लागि औषधिको काम गर्छ । कतिपय रोगमा औषधिले काम नगरेपनि संगीतले जादूमयी असर देखाउँछ । संगीतले मानिसलाई जिउने भावनाको जन्म गराउँछ ।
संगीत मानवजीवनको हिस्सा शताब्दियौंदेखि छ । संगीतलाई हरेक संस्कृतिले पूजा गर्छ किनकि यो हरेक संस्कृतिको पहिचान हो । संगीत सुन्दा यी शारीरिक र मानसिक फाइदा हुन्छन् ।
यसले तनाव र चिन्ता भगाउँछ । शरीरको कोर्टिसोल स्तर कम गरेर यसले तनावग्रस्त मांसपेशीहरूलाई आराम दिन्छ । नियमित संगीत सुन्दा दिमागले राम्ररी काम गर्न पाउँछ ।
असहनीय पीडाबाट गुज्रिरहेका मानिसलाई संगीत सुनाउँदा आराम पुग्छ । क्यानाडाको अल्बर्टा विश्वविद्यालयमा तीनदेखि ११ वर्षसम्मका ४२ बालबालिकालाई इन्जेक्सन लगाउने बेलामा संगीत सुनाउँदा कम पीडा महसूस भएको थियो ।
संगीत श्रवणले शरीरमा इम्युनोग्लोबुलिन ए बढाउँछ । यो एन्टीबडीले शरीरका कोशिकाहरू स्वस्थ राख्नका लागि ठूलो काम गर्छ । संक्रामक रोग लागेकाहरूलाई उपचारका बेलामा संगीत सुनाउँदा प्रतिरक्षा प्रणालीमा सकारात्मक असर पर्छ । घरिघरि बिरामी हुनबाट बच्नुछ भने संगीत सुन्न थाल्नुस् ।
ढाडको समस्या हटाउन, स्मरण शक्ति दह्रो बनाउन र राम्रो निद्रा ल्याउन पनि संगीत प्रभावकारी हुन्छ ।
तर सुमधुर संगीत सुन्दा मात्र यी असर देखिने हुन् । चर्को, डाङडुङे र कर्कश संगीत सुन्दा चाहिँ तनाव थपिन्छ ।
एजेन्सी