समाज

सुनको थालमा महालक्ष्मी–महाभैरव जात्रा

सुनको थालमा महालक्ष्मी–महाभैरव जात्रा
वैशाख - १९ । प्राचिन सहर लुभूमा यस वर्ष पनि महालक्ष्मी–महाभैरवको रथ जात्रा आयोजना गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५, ६, ७ र ८ गरी चारवटा वडाभित्रको ‘सुनको थाल’ लुभूमा प्रत्येक वर्ष अक्षय तृतीयादेखि पूर्णिमासम्म यो जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ४२५ मा राजा हरिहरसिंह मल्लले लुभूको बस्ती बसालेको केही वर्षपछि उनकी रानी गङ्गामायाले सुनको थाल बेचेर सो स्थानको बस्तीलाई व्यवस्थित गराएकाले सो स्थानको नाम लुभू (लुँभूबाट अपभ्रंशित) हुन गएको शिलालेखमा उल्लेख छ । नेवारी भाषामा ‘लुँ’ को अर्थ सुन र ‘भू’ को अर्थ थाल हो । ती मल्ल राजाले करिब ३०० घर बनाई बस्ती बसालेकामा केही वर्षपछि त्यहाँका बासिन्दामा गलगाँड आउनेलगायतका समस्या देखाप¥यो । बस्ती रहेको मुन्तिर पश्चिमतर्फ गोभ्रटेश्वर महादेवको मन्दिर रहेको र मन्दिरभन्दा माथि मानव बस्ती रहनु उचित नभएको एक तान्त्रिकले जानकारी दिएपछि रानी गङ्गामायाले सुनको थाल बेचेर गोभ्रटेश्वर महादेवको मन्दिर मुन्तिर बस्ती बसाएकीले सो स्थानको नाम लुँभू हुन गएको शिलालेखमा उल्लेख छ । स्कन्दपुराणको हिमवत् खण्डमा उल्लिखित ६४ शिवलिङ्गमध्ये एक रहेको सो शिवालयमा द्वापर युगमा श्रृङ्गी नामका ऋषिले कामधेनु गाईको गोबर लिएर पूजा गरी ध्यान गर्दा आषाढ कृष्ण चतुर्दशीका रात गोबरबाट तेजस्वी लिङ्ग उत्पत्ति भएको धार्मिक कथन छ । लुभूको बस्ती बसालिएको केही वर्षपछि ती राजाले वैशाख सुदी ३ देखि १० सम्म महालक्ष्मी–महाभैरव जात्रा गर्ने रीत बसालेकाले त्यसैबेलादेखि यो जात्रा मनाउन थालिएको समाजसेवी तथा इन्जिनियर रामबहादुर श्रेष्ठ बताउँछन्। उनका अनुसार नेवारी भाषामा ‘भसारे’ भनिने गङ्गा महारानीको प्रतिनिधिले आदेश दिएपछि मात्र जात्रा निकाल्ने प्रचलन अद्यापि जारी छ । हाल भसारेका रूपमा रहेका बेखानारायण श्रेष्ठ भन्छन् – “गङ्गा महारानीको हुकुम छ रथ बाहिर निकाल्नु” भनी आदेश दिएपछि मात्र महालक्ष्मीको मन्दिरभित्र राखिएको महालक्ष्मी, गणेश र कुमारको मूर्ति निकालेर एउटा रथमा ल्याएर राख्ने र अर्को रथमा भैरव, गणेश र कुमारीको मूर्ति राख्ने काम हुन्छ । प्रत्येक वर्ष दसैँमा गरिने खड्ग जात्रा र अन्य धार्मिक कार्यमा आफूले आदेश दिएपछि मात्र कार्य प्रारम्भ गरिने उनी बताउँछन्। आठ दिनसम्म हुने सो जात्रामा पहिलो दिन मन्दिर बाहिर रथ रहेको महालक्ष्मी–महाभैरवको मूर्तिमा पूजा गरिने, दोस्रो दिनदेखि पूजा गरेर साँझपख दुवै रथ नचाएर विभिन्न टोलमा राख्ने गरिन्छ तेस्रो दिन आकाश भैरवलाई बाहिर ल्याई दुवै रथको अगाडि रथमा राख्ने गरिन्छ । अक्षय तृतीयाका दिन रथ निकालिने, चतुर्दशीका दिनदेखि रथ नचाउन थालिने र अष्टमीका दिन सरकारका तर्फबाट पूजा पठाइने हुँदा यी तीन दिनलाई मुख्य जात्राका रूपमा लिइने गरेको महालक्ष्मी–महाभैरवका गुठीका मुख्य थकाली इन्द्रबहादुर श्रेष्ठ नमाई बताउँछन्। गुठीका अध्यक्ष हरिगोविन्द श्रेष्ठका अनुसार आकाश भैरवले क्षेत्रपालका रूपमा सबैको रक्षा गर्ने धार्मिक आस्था रहेको छ र जात्रा अवधिभर अन्यत्रका देवीदेवताको पूजा पनि गर्न हुँदैन । लुभूवासीको इष्टदेवका रूपमा रहेको महालक्ष्मी–महाभैरवको जात्राले सांस्कृतिक एकताको भावना जगाएको छ ।
मदन गौतम

विशेष