देश

जाजरकोटमा उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागिता

जाजरकोटमा उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागिता

दीपबहादुर घर्ती जाजरकोट, बैशाख - १९ । दुई दशकपछि हुन गैरहेको स्थानिय तहको निर्वाचनको मनोनयन दर्तामा निकै उत्साह देखिएको छ । ३१ बैशाखमा हुने पहिलो चरणको स्थानीय तह चुनावका लागि जाजरकोटमा मंगलवार उम्मेदवारले तोकिएका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा राजनैतिक दलका कार्यकर्ताहरुको निकै उत्साह देखिएको छ । दलहरुले नाराजुलुस सहित जिल्लाका सात ओटा स्थानमा रहेका निर्वाचन अधिकारीको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रमा कार्यकर्ताको उत्साह निकै देखिएको छ भने, राप्रपा लगायतका साना दलहरुलाई प्रस्तावक समर्थक र उम्मेदवार भेटाउन समेत मुस्किल परेको थियो । नयाँ शक्ति, नेकपा माले, समाजवादी जनता पार्टी र संयुक्त क्रान्तिकारी पार्टी नेपालले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । नगर तथा गाँउपालिकाका वडा सदस्य, वडा अध्यक्ष देखि पालिकाको प्रमुख तथा उपप्रमुखको मनोनयन निर्वाचन अधिकृतको कार्यालयमा गर्नु पर्ने भएकोले निकै भिडभाड भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताए । मनोनयन गर्दा समर्थक र प्रस्तावक स्वयम उपस्थित हुनु पर्ने तथा उम्मेदवारले भर्नु पर्ने विवरणको प्रक्रिया लामो भएकोले कर्मचारीलाई पनि मनोनयन दर्तामा निकै सकस परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसबाट भेरी नगरपालिका प्रमुखमा सनत कुमार कार्की र उपप्रमुखमा धनाकुमारी चपाई, त्रिवेणी नलगाड नगरपालिकाको प्रमुखमा छवि पन्त र उपप्रमुखमा धनमाया शाही तथा छेडागार नगरपालिका प्रमुखमा रत्नबहादुर खडका र उपप्रमुखमा रेश्मा शाहीले उम्मेदवारी दर्ता गराएका छन् । बारेकोट गाउँपालिका प्रमुखमा महेन्द्रबहादुर शाह र उपप्रमुखमा कालु ज्योति, शिवालय गाउँपालिका प्रमुखमा खड्क बीसी र उपप्रमुखमा गीताकुमारी शाही, जुनीचाँदे गाउँपालिका प्रमुखमा सर्पराज रावत र उपप्रमुखमा तुलसीदेवी बस्नेत तथा कुशे गाउँपालिकाको प्रमुखमा हरिचन्द्र बस्नेत र उपप्रमुखमा रामछाया शाहीले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै, नेकपा एमालेवाट भेरी नगरपालिकाको प्रमुखमा सिपी घर्तीमगर र उपप्रमुखमा भावना भण्डारी, त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा नवेन्द्र नेपाली र उप्रमुखमा सुनिता बोहरा, छेडागाड नगरपालिका प्रमुखमा लालबहादुर महतारा र उपप्रमुखमा सरिता वलीले मनोनयन दर्ता गराएका छन । बारेकोट गाउँपालिकाको प्रमुखमा मिमबहादुर सिंह र उपप्रमुखमा गीता सिंह, शिवालय गाउँपालिका प्रमुखमा नरेन्द्रबहादुर शाही र उपप्रमुखमा कुमारी थापा तथा जुनीचाँदे गाउँपालिका प्रमुखमा वेदबहादुर शाही र उपप्रमुखमा अम्बा शाहलाई उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी माओवादी केन्द्रले भेरी नगरपालिका प्रमुखमा ढकवीर राना र उपप्रमुखमा कृष्णा आचार्य, त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा टेकबहादुर रावल र उपप्रमुखमा बालकुमारी बस्नेत, छेडागार नगरपालिका प्रमुखमा चन्द्रबहादुर थापा र उपप्रमुखमा धर्र्मिशला बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । बारेकोट गाउँपालिको प्रमुखमा तिलक रावत र उपप्रमुखमा उमा शाही, कुशे गाउँपालिका प्रमुखमा जनकराज गौतम र उपप्रमुखमा अम्बिका बस्नेत, जुनीचाँदे गाउँपालिकाको प्रमुखमा कृष्णबहादुर केसी र उपप्रमुखमा शिवा आचार्य तथा शिवालय गाउँपालिकाको प्रमुखमा लालबहादुर थापा र उपप्रमुखमा लक्ष्मी केसीले मनोनयन गरेका छन् । जिल्लामा १२ दल दर्ता भएकोमा ९ ओटा दलले मात्र मनोनयन दर्ता गराएका छन् । राप्रपा र नयाँ शक्तिबाट महिला मेयरको उम्मेरदवारी दिएका छन् । जाजरकोटमा प्रमुख तीन दलले महिलाहरु प्रमुख पदमा टिकट नदिएर दोस्रो पदमै सिमित राखेका छन् तर, राप्रपाले महिलालाई उम्मेदवार बनाएको छ । राप्रपाले जाजरकोटको भेरी नगरपलिकाको मेयरमा शोभा शाही खत्री र उपमेयरमा लक्ष्मी खड्कालाई उम्मेदवार बनाएको छ । उनी दुवैले मनोनयन दर्ता गराई सकेकी छन् । नयाँ शक्ति लगायतका चार दलिय गठबन्धनले भेरीनगरपालिकाको मेयरमा महिलालाई नै उम्मेदवार बनाएको छ । गठबन्धनको तर्फबाट नयाँ शक्तीकी सीता दवाडीले मेयरमा मनोनयन दर्ता गराएकी छन भने, संघिय समावादी फोरमवाट उपमेयरमा पदमावी पुनले मनोनयन दर्ता गराएकी छन् । प्रमुख दलहरु महिला प्रति अनुदार देखिएको बेला साना दलहरु महिला प्रति उदार देखिएका छन् । प्रमुख तिन दलले भने वडा अध्यक्षमा समेत महिलालाई उम्मेदवार बनाएका छैनन् ।

जाजरकाेट स्थानिय तहको निर्वाचन

विशेष