देश

स्थानीयले दिए बसपार्कका लागि करोडौँको जग्गा

स्थानीयले दिए बसपार्कका लागि करोडौँको जग्गा
वैशाख २० । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि सूर्योदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन/तीन रोपनी जग्गा दान दिनुभएको छ । सूनपा–१० का श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । चलनचल्तीको भाउमा फिक्कलमा एक रोपनी जग्गाको करिब ३० लाखभन्दा बढी पर्छ । बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालु आवमै १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बताए । नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं १ बाट नौ लाख ७० हजार, आन्तरिक स्रोतबाट चार लाख ६९ हजार र उपभोक्ता समितिबाट एक लाख २३ हजार विनियोजन भएको हो । प्रारम्भिक पूर्वाधार निर्माण अन्तर्गत बसपार्क प्रवेश गर्ने प्रवेश मार्ग र बसपार्क सम्याउने काम थालिनेसमेत प्राविधिक पौडेलले बताए ।

ilam

विशेष