समाज

निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी- प्रमुख निर्वाचन अायुक्त

निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी- प्रमुख निर्वाचन अायुक्त
वैशाख - २० । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको बताएका छन्। बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले मनोनयनपछि उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको बताए। सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गरे। उनले भने,‘उम्मेदवारी दर्ता गर्नुअघि भगवानसँग आशिर्वाद लिएर जानुभएको छ, अब उहाँहरुले कानुनको बर्खिलाप गर्नुहुन्छ भने लाग्दैन।’ उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरुले पनि दबाब दिनुपर्छ भन्दै यादवले अहिले नै कानुनको उल्लङ्घन गर्नुहुन्छ भने निर्वाचित भएपछि झन् कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिए। निर्वाचनको बेलामा उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इङ्गित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिन आग्रह गरे। यादवले भोटसँगै कतिपयले नोट पनि माग्ने भएकाले त्यस अवस्थामा भोट दिने तर नोट नदिने कुरा स्पष्टसँग राख्न आग्रह गरे। प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचारप्रसारको क्रममा हुनसक्ने तडकभडक र आचारसंहिताको पालना गरे/नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिए।

Ayodhi prasad yadav

विशेष