देश

दुबई पुर्‍याइएका ४४ नेपाली महिला फिर्ता, सिआइबीद्वारा अनुसन्धान शुरु

दुबई पुर्‍याइएका ४४ नेपाली महिला फिर्ता, सिआइबीद्वारा अनुसन्धान शुरु
वैशाख - २० । भारत हुँदै युनाइटेड अरब इमिरेट्स युएईको दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा मंगलबार थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट दुबई पुर्‍याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरीदिएको थियो । राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुवेत लैजाने तयारी गरेको थियो । केन्यामा नेपालीलाई ‘अन अराईभल भिसा’ अर्थात् जाने बित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानको क्रममा खुलेको छ । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिए । उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारे समेत अनुसन्धान भइरहेको उनले बताए । 'मङ्गलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन्,' गेलालले भने, 'उनीहरु सबै तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।' यसरी फिर्ता हुनेमा कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो(सिआइबी)ले समेत यो घटनाबारे अनुसन्धान शुरु गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान शुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताए । दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौँ आइपुगेका हुन् । विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत कूटनीतिक ढङ्गले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गरे । फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारको रुपमा कुवेत जान लागेको बताएका छन् । भारतबाट जाँदा उनीहरु अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए । यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।
किरण भट्टराई

विशेष