स्वास्थ्य

जनकपुर अञ्चल अस्पतालबाटै मुटु रोगको उपचार

जनकपुर अञ्चल अस्पतालबाटै मुटु रोगको उपचार
वैशाख २० । राजधानी बाहिर पनि विशेषज्ञ उपचार सेवा विस्तार गर्ने सिलसिलामा अब स्वास्थ्य मन्त्रालयले जनकपुर अञ्चल अस्पतालबाट मुटु रोगको उपचार सुरु गर्ने भएको छ । मन्त्रालयको रोहबरमा मङ्गलबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पताललाई प्रविधि र विशेषज्ञसहितको ज्ञानसीप गङ्गालालले दिने र मन्त्रालयले त्यसका लागि सम्पूर्ण आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ । चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले १० वर्षका लागि सम्झौता गरिएको र त्यसपछि भने अस्पताल आत्मनिर्भर भई सेवालाई निरन्तरता दिनुपर्ने बताए । उनले भने – ‘तत्कालका लागि रु १० करोड सहयोग गरी उपचार सुरु गरिने र आवश्यकताअनुसारका अन्य क्याथ ल्याब लगायतका उपकरण जुटाउन सहयोग गर्नेछ । मुटुको जुनसुकै समस्याको उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न राजधानी बाहिर विशेषज्ञ सेवा दिन लागिएको हो । त्यहाँ शल्यक्रियाबाहेकका सबै उपचार हुन्छ ।’ दुई महिनाअघिदेखि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पनि यस्तो सेवा दिन थालिसकेको छ । त्यहाँ एक जना मुटु रोग विशेषज्ञसहितको सेवा सुरु गरिएको उपसचिव लामिछानेले जानकारी दिए ।

विशेष