हिरोइन नपाएपछि आमीरले अन्तत आफ्नै अनस्क्रीन छोरी फतिमालाई छाने
वैशाख २३ । केही समयदेखि चर्चामा रहेको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले हिरोइन पाएको छ । अभिनेता आमीर खान र बीग बी अमिताभ वच्च्नले पहिलो पटक सँगै काम गर्न लागेको र फिल्मले हिरोइन नपाएर सुटिङ सुरु नभएका खबरले भारतीय मिडिया तताएको थियो ।
उक्त हल्लालाई चिर्दै अब फिल्मले ‘दंगल’ अभिनेत्री फतिमा शिखलाई हिरोइनको रुपमा पाएको छ । फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गर्दै छन् । निर्देशक कृष्णको फिल्म ‘धूम ३’ पछि आमीरसँगको यो दोस्रो सहकार्य हो ।
दंगल अभिनेत्री फतिमाले ‘दंगल’ मा गरेका मेहनत र कामलाई हेरेर फिल्ममा छानेको निर्देशक आचार्यले बताएका छन् । पहिलो फिल्म दंगलमा पनि एक्सन अवतारमा देखिएकी फतिमा ‘थग्स अफ हिन्दुस्तान’ मा पनि एक्सन अवारमा देखिन लागेकी हुन् ।
पहिला पनि बाल कलाकारको रुपमा फिल्म ‘चाची ४२०’ मा बलिउडमा डेब्यु गरेकी फतिमाको लागि ‘दंगल’ जिन्दगीकै ठूलो टर्निङ पोइन्ट बन्न पुग्यो । उक्त फिल्मको सफलता पछि उनले चौतर्फी प्रशंशा बटुल्न सफल भइन् ।
जुन १ गतेदेखि फिल्म फ्लोरमा जाने फिल्म २०१८ को दिवालीमा रिलिज हुने बताइएको छ ।