समाज

चिन्तित किसान भन्छन्, समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?

चिन्तित किसान भन्छन्, समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?
वैशाख - २३, बाजुरा । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताए । उनले गहुँखेती छाडेर आलुखेती गरेका हुन् । ‘किरा लागेर बीउको मूल्य समेत आउने अवस्था छैन्,’ उनले भने । गडखेतकै बिन्दा कठायतलगायत १८ परिवारले लगाएको तरकारीमा किरा लागेर सखाप पारेको छ । उनीहरुले जिल्ला कृषि विकास कार्यालयमै गएर रोग लागेको बारेमा जानकारी गराउँदा पनि त्यसको सुनवाइ नभएको किसानको गुनासो छ । ‘समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?’, कठायतले भने । किसानले लगाएको प्याज, धनिया र लसुनबाहेक सबै जसो तरकारीमा रोगकिरा लागेको स्थानीय जङ्ग रावलले बताए । बडिमालिका नगरपालिका– ८ गडखेतका स्थानीयवासीले तरकारी खेतीबाटै जीवन निर्वाह गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले किसानलाई ‘एकीकृत शत्रुविज’ व्यवस्थापन विधि सिकाएकाले धेरैजसो समस्या समाधान आफै गर्नसक्ने बताए । गाईवस्तुको पिसाब सङ्कलन गरी विविन्न वनस्पतिसँग कुहाएर बारीमा छर्केपछि धेरै रोग हट्ने उनको भनाइ छ ।

विशेष