समाज

इपिसेन्टरमा छैन चुनावी रौनक

इपिसेन्टरमा छैन चुनावी रौनक

वैशाख २४ । माथि ठाडो भीर छ। भूकम्पले हल्लाएपछि सुरु भएको ढुंगा खस्ने क्रम अझै रोकिएको छैन ।

तलतिर दरौंदी नदीले कटान गर्दै लगेको छ। भत्किएका घर ठडिन सकेका छैनन् । अधिकांश स्थानीयको टहराकै बास छ–यो हो भूकम्पको इपिसेन्टर बारपाक फेदीको झोलुंगे गाउँ । केही दिनयता टहरामा राजनीतिक पार्टीका राता र सेता झन्डा फहरिएका छन् । स्थानीय तहको चुनावले उम्मेदवारहरुलाई चटारो परेको छ । खास कार्यकर्तामा मात्र रौनक छ तर, टहरामा बस्ने गाउँवासीलाई चुनावी रौनकताले छोएको छैन। उनीहरुको एउटै चिन्ता छ, कहिले होला टहराबाट घरमा सर्ने दिन ‘कैयौं दिनदेखि हामी पीडामा छाै, कोही सोध्न आएन, अहिले चुनाव छ भन्दै भोट माग्न आउँछन्’ ३८ वर्षीय सम्झी गुरुङले रुँदै भनिन्, ‘आश्वासन मात्र दिने हुन् हामीलाई हेर्लान् भन्ने त विश्वासै छैन ।’ भुइँचालोले घर भत्कँदा सम्झीकी १५ वर्षीय छोरी घाइते भइन्, बिमार बढ्दै गयो । छोरीको उपचारमा उनको ३ लाख खर्च भयो ।

०७२ वैशाख १२ को भूकम्पले घर मात्र ढलेको थियो, गत माघ २७ गते मुटुको टुक्रा नै चुँडियो । लामो उपचारपछि पनि छोरीको ज्यान बचेन । सरकारले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने भन्ने उनले सुनेकी थिइन् तर त्यो सुविधा उनले पाइनन् । सरकारले भन्ने गरेका कुरा व्यवहारमा कार्यान्वयन नभएको तीतो अनुभव व्यहोरेकी उनलाई अहिले चुनावमा भोटका लागि आश्वासन दिनेहरु पनि उस्तै हुन् जस्तो लाग्छ ।

कान्तिपुर

Barpak

विशेष