खेल

रियल मड्रिडले ग्रानाडालाई हरायो

रियल मड्रिडले ग्रानाडालाई हरायो

वैशाख २४ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । लिग आज राति भएको खेलमा रियलले ग्रानाडामाथि ४–० को जित निकालेको हो ।

ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलबिना नै जित निकालेको हो । प्रशिक्षक जिनेदान जिदानले रोनाल्डोलाई आराम दिइएको हो भने बेल चोटका कारण मैदान उत्रिएनन । तर, उनीहरुको अनुपस्थितिमा जेम्स रोड्रिग्वेज र अल्भारो मोराटाले समान दुई दुई गोल गर्दै रियललाई सहज जित दिलाए ।

घरेलु टोलीलाई पराजित गर्न क्रममा रियल मड्रिडले चार गोल नै पहिलो हाफमा नै गरेको हो । खेलको तेस्रो मिनेटबाटै रियल मड्रिडले रोड्रिग्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको ११ औं मिनेटमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

खेलको ३० औं मिनेटमा मोराटाले व्यक्तिगत पहिलो गोल गरेपछि रियलको अग्रता ३–० मा पुग्यो । त्यसको पाँच मिनेट नबित्दै पुनः मोराटाले गोल गरेपछि पहिलो हाफमा रियलले ४–० को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल रियल मड्रिडले ४–० ले आफ्नो पक्षमा बनायो ।

la liga

विशेष