मनोरञ्जन

पहिलो चरणको निर्वाचनको मतगणना जेठ १ बाट

पहिलो चरणको निर्वाचनको मतगणना जेठ १ बाट

वैशाख २६ । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ ।

मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मतगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिका प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइरहेको छ । स्थानीय तह निर्वाचन ऐनको मतगणनाको व्यवस्थाअनुसार मतदान भएका सबै मतपेटिका बुझिसकेपछि मतगणना सुरु गर्नुपर्नेछ । मतगणना गर्ने स्थान तोकी निर्वाचन अधिकृतले सूचना प्रकाशन गर्नुपर्नेछ ।

‘स्थानीय तहको कुनै पदको निर्वाचनका लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीका लागि सूचना प्रकाशन गर्नु पर्नेछ,’ ऐनमा उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार ३४ जिल्लाका २८३ स्थानीय तहमा मतगणना हुनेछ । निर्वाचन अधिकृत रहेको कार्यालयमा मतपेटिका जम्मा गरेपछि मतगणना सुरु गरिनेछ । त्यसका लागि मुख्य निर्वाचन अधिकृतले कार्यतालिकासहितको सूचना जारी गर्नेछ । त्यसपछि २८३ स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ । नयाँ पत्रिका

Rajesh Hamal

विशेष