समाज

अत्तरीया कपको फाइनलमा एपीएफ र राईजिग वुमेन्स भिड्ने

अत्तरीया कपको फाइनलमा एपीएफ र राईजिग वुमेन्स भिड्ने

वैशाख २६ । कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ र राईजिग क्रिकेट वुमेन्सले उपाधिका लागि भिड्ने भएका छन् ।

सोमवार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन् । पहिलो सेमिफाईनलमा एपिएफले पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराएको हो भने दोस्रो सेमिफाईनलमा राईजिग क्रिकेट वुमन्सले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाएको हो ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा टस जितेर पहिले व्याटिग गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५० रन बनायो । टीमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ वलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् । टीमका लागि ज्योती पाण्डेयले ४० रन बनाईन् । टीमका लागि १५ वल खेल्दै ३ चौकाको मदत्तले विनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाईन् ।

दोस्रो विकेटका लागि ज्योती र सरीता मगरले ३२ रनको, तेस्रो विकेटका लागि ज्योती र करुणाले ३५ रनको तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपुर्ण साझेदारी गरे। कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुवरले ३ विकेट लिईन् । ४ ओभर बलिंग गरेकी उनले २३ रन खर्चिन । यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन । ३ ओभर बलिंग गरेकी लक्ष्मीले ३३ रन खर्चिन् । कैलालीका लागि सुमन विष्टको बलिंग महँगो साबित भयो । एक ओभरमा २३ रन दिएकी उनले आफुले गरेको ४ ओभरमा ४७ रन खर्चिन् ।

एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन वनाउन सकेनन् । एपिएफको कसिलो बलिंग सामु कैलालीका खेलाडी निरीह देखिए ।

वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न हुनेछ । एपिएफ र राईजिग क्रिकेट वुमन्स बीच मंगलवार दिउसो उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन ।

विशेष