समाज

गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी

गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी

वैशाख २७ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन् ।

राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो । तर उनी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उठेकी छिन्, त्यसैमा मत खसाल्न आग्रह गर्दैछिन् । एमालेका जनक पौडेल प्रमुख पदमा उठेकाले तालमेलमा जोडिने राजमोका सबै उम्मेदवारको जिम्मेवारी ‘सूर्य’मा मत माग्नु हो । जैमिनी नगरपालिकामा राजमोका नरबहादुर पुनले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । उपमेयर लीला रानाबाहेक अन्य सबै एमालेका उम्मेदवारको चुनाव चिह्न भने ‘गिलास’ छ ।

एउटै चिह्नबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषले उम्मेदवारी दिन नमिल्ने भएकाले कानुनी रूपमा मिलाउन मात्र रानाले सूर्य चिह्न लिएका हुन्। अरु सबै एमाले उम्मेदवार ‘गिलास’ चिह्नमा मत मागिरहेका छन् । बरेङ गाउँपालिका अध्यक्षका उम्मेदवार प्रदीप थापा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी माओवादी केन्द्रको गाउँपालिका संयोजक पनि हुन् । थापाका बाबु लीला थापा त माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भइसकेका व्यक्ति हुन् । तर थापाको चुनाव चिह्न ‘रुख’ छ ।

माथिका दृष्टान्त बागलुँमा दलहरूका ‘खिचडी तालमेल’ का हुन् । तीनवटै प्रदेशमा दलहरूले तालमेल त गरेका छन् तर यहाँको अलि फरक किसिमको छ । भिन्न दलको चिह्नमा चुनाव लड्नेगरी केही दलले उम्मेदवारी दिएका छन् ।

जिल्लामा बृहत् खालको तालमेल एमाले र राजमोबीच भएको छ। त्यसैले उनीहरूले चुनाव चिह्न नै साटासाट गरेर उम्मेदवारी दिएका छन्। एमालेले माओवादी केन्द्र र राप्रपासँग समेत केही स्थानमा तालमेल गरेको छ । ‘जिल्लाभरि सबै वाम दलबीच तालमेलको प्रयास गरेका थियौं’, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले भने, ‘तर सम्भव नभएपछि एमाले र राजमोबीच मात्रै बृहत तालमेल भयो ।

कान्तिपुर

विशेष