खेल

एमाले 'संविधान संशाेधन' मा लचिलो

एमाले 'संविधान संशाेधन' मा लचिलो

वैशाख २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष एमालेले संसदमा विचाराधीन संविधान संशोधन विधेयकप्रति लचिलो बन्ने संकेत दिएको छ ।

संसदमा दर्ता गराएको दोस्रो संविधान संशोधन विधेयकमाथि प्रमुख प्रतिपक्षबाट परेका संशोधनलाई समेत समेटेर अघि बढ्न सरकार तयार हुने अवस्थामा एमालेले लचिलो हुने संकेत गरेको हो । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षबाट आएको संशोधनलाई समेत समेटेर संविधान संशोधनलाई सर्वस्वीकार्य बनाउन आफूहरू तयार रहेको बताउँदै त्यसका लागि संघीय गठबन्धनका नेताहरूलाई पनि मानिदिन आग्रह गरेका थिए ।

बैठकमा एमाले नेताहरूले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफूहरू बाधक नरहेको बताए । उनीहरूले संसदमा विचाराधीन संविधान संशोधन विधेयक र त्यसउपर सरकारले राखेको संशोधनको अन्तर्वस्तुबारे प्रमुख प्रतिपक्षसँग छलफल नगरिएको भन्दै दुखेसो पोखेका थिए । संविधान संशोधनका लागि दबाब दिन मंगलबार संघीय गठबन्धनका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समय मागेका थिए ।

प्रधानमन्त्री दाहालले भने त्यही मेसोमा कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र संघीय गठबन्धनसहितको बैठक डाके । बैठकमा संविधान संशोधनका लागि सरकारका प्रयासबारे जानकारी गराइएको थियो । बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए ।

नेम्वाङले प्रधानमन्त्री दाहाल चीन भ्रमण जानुअघि एकपटक बोलाइएको र त्यसपछि मंगलबार नै मधेसी मोर्चा सहभागी भएको बैठकमा उपस्थित भएको बताउँदै भने, ‘सत्तापक्षले संविधान संशोधनको विषयमा एमालेलाई जानकारी नै दिएन या दिन चाहेन । मधेसी मोर्चासँगको बैठकमा एमालेलाई नराख्ने, तर बाहिर एमालेलाई मधेसविरोधीका रूपमा चित्रण गरियो ।’

दोस्रो चरणको चुनावअघि मधेसी जनतालाई प्रभावमा पार्न एमालेले ‘टोन’ परिवर्तन गर्न खोजेको सत्तापक्षका नेताहरूको बुझाइ छ । ‘संविधान संशोधनको विषयमा एमाले अध्यक्ष केपी ओलीसँग तारन्तर छलफल भएको छ,’ एमालेसँग छलफल भएन भन्ने भनाइको प्रतिवाद गर्दै प्रधानमन्त्री दाहालले भनेका थिए, ‘संविधान संशोधनका विषय, जेठ ३१ मा दोस्रो चरणको निर्वाचन गर्ने र असार ५ मा बजेट ल्याउनेबारे ओलीजीकै निवासमा गएर वार्ता गरेको हो ।

त्यसयता पनि कुराकानी नभएका होइनन्, ओलीजी नै उपस्थित भएको भए राम्रो हुन्थ्यो।’ बैठकमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनउपर प्रतिपक्षी एमालेले दर्ता गराएको पूरक संशोधनलाई पनि छलफलमा ल्याएर सहमति खोज्ने प्रयास हुने बताए। बैठकमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले जेठ ३१ को दोस्रो चरणको निर्वाचन सार्न नसकिने बताएका थिए । ‘जेठ ३१ मै दोस्रो चरणको निर्वाचन हुने, नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै बजेट ल्याउने र संविधान संशोधन विधेयकलाई समेत सर्वस्वीकार्य रूपमा अघि बढाउने दिशामा सकारात्मक छलफल भएको छ,’ निधिले भने ।

कान्तिपुर

Ipl

विशेष