समाज

नेपाल–बङ्गलादेश युवा सम्मेलन–२०१७ सुरु

नेपाल–बङ्गलादेश युवा सम्मेलन–२०१७ सुरु

काठमाडौँः नेपाल–बङ्गलादेश युवा सम्मेलन–२०१७ आजदेखि काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको मुख्य उद्देश्य नेपाल र बङ्गलादेश भौगोलिक दृष्टिले नजिक भएपनि यी दुई देशबीच व्यापारिक कारोबार बढ्न नसकेको सन्दर्भमा दुई मुलुकबीच व्यापार वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई छलफल हुने बताइएको छ ।

नेपालका लागि बङ्गलादेशका राजदूत मस्फी विन्ते साम्सले सम्मेलनको उद्घाटन गर्दै यस क्षेत्रका मुलुकहरु बङ्गलादेश, भुटान, भारत तथा नेपाल (बिबिआइएन) को सहकार्य तथा साझेदारीबाट हाम्रा साझा समस्या समाधान गर्न सकिने तथा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले यसबारेमा लगानीको वातावरण, आर्थिक तथा व्यावसायिक क्षेत्रका बारेमा विस्तृतरुपमा छलफल हुने बताए ।

उनले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली राष्ट्रको संगठन बिमस्टेकका लागि यो प्रयास सहयोगी हुनसक्ने विश्वास व्यक्त गरे ।

नेपाल–बङ्गलादेश युवा सम्मेलन आयोजक समितिका संयोजक अभिनव चौधरीले दुई मुलुकबीचको सम्बन्ध भौगोलिक तथा अन्य दृष्टिबाट नजिकको भएकाले यी दुई देशबीच आर्थिक विकासको सम्भाव्यतामा छलफल गर्न यो सम्मेलन गरिएको बताए ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवकुमार ढुङ्गेलले पनि बोल्नुभएको सो कार्यक्रमको दोस्रो सत्रमा नेपाल–बङ्गलादेश व्यापार सम्बन्धः अवरोध र अवसर विषयक छलफल कार्यक्रममा राजदूत साम्स, सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र रामेश्वर खनाल, विश्व बैँकका प्रतिनिधि गोपाल तिवारीले मन्तव्य दिएका थिए ।

त्यस्तै, अर्को सत्रमा पर्यटन उद्योगमा युवाको भूमिका विषयमा नाटाका पूर्व अध्यक्ष डिबी गुरुङ, हानका सचिव विनायक शाह, नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष आङछिरिङ शेर्पा तथा सरकारका पूर्व सचिव प्रचण्डमान श्रेष्ठले भाग लिएका थिए।

यसैगरी, अन्तिम सत्रमा ‘युथ स्टेवार्डसिप इन एसडिजीे’ विषयक छलफलमा युएनडिपीका कार्यक्रम संयोजक विषम ज्ञवाली, राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य भावना भट्टलगायतका वक्ताले मन्तव्य दिएकी थिइन् ।

सम्मेलनमा नेपालका ६० प्रतिनिधि, बङ्गलादेशका ४५ तथा भारतका प्रतिनिधिहरुले सम्मेलनमा भाग लिइरहेका छन् । सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच दौत्य सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीच सौहाद्र्र सम्बन्ध रहिआएको छ । बङ्गलादेशबाट वार्षिक २० हजार पर्यटक नेपालको भ्रमणमा आउने गरेको अनुपातमा नेपाली पर्यटकको बङ्गलादेश भ्रमणमा वृद्धि हुन सकेको छैन । 

विशेष