देश

वन्यजन्तुका लागि कृत्रिम ताल थपिँदै

वन्यजन्तुका लागि कृत्रिम ताल थपिँदै

भीमदत्तनगर: सुख्खा मौसमसँगै निकुञ्जभित्र रहेका प्राकृतिक ताल सुक्दै गएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको पानीको प्यास मेटाउन कृत्रिम तालहरु थपिँदै गएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्जभित्र वन्यजन्तुको पानीको सुविधा पु¥याउन साना र ठूला गरी एक दर्जन तालमा पानी भरिएको बताए । खडेरीका कारण हरेक वर्ष वन्यजन्तुलाई पिउने पानीको समस्या बढ्न थालेपछि निकुञ्ज कार्यालयले आवश्यकताअनुसार विभिन्न स्थानमा कृत्रिम तलाउ निर्माण गरेर ट्युबेलले पानी खुवाउने प्रबन्ध मिलाइरहेको छ ।

“दुईवटा तालमा ट्युबवेलको सहारामा पानी भर्ने व्यवस्था मिलाएका छौँ ।” निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले रासससित भने – “अन्य तालमा सोलार जडान गरेरसमेत पानीको व्यवस्था गरिएको छ ।” यो वर्ष पाँचवटा कृत्रिम ताल थपिएको उहाँले जानकारी दिए । निकुञ्ज प्रशासनका अनुसार निकुञ्जको चुरे क्षेत्र र सालको घनत्व बढी भएको क्षेत्रमा पानीको समस्या बढी भएकाले सो क्षेत्रमा ताल निर्माण गरिएको हो ।

निकुञ्जभित्र रहेका अधिकांश प्राकृतिक ताल सुकिसकेका छन् । पानी भएका तालमा पनि जलकुम्भी भरिएकाले वन्यजन्तुलाई पानीको प्यास मेटाउन असहज हुने गर्छ । निकुञ्जमा रानी ताल, बाबा ताल, बडनिया ताललगायतका ताल रहेका छन् । ताल पुरिँदै गएपछि संरक्षित वन्यजन्तु तथा दुर्लभ चराचुरुङ्गी आउन छाडेका छन् । 

विशेष