प्रतिरोधी संक्रमण बिरुद्ध लड्न सक्ने एन्टिबायोटिक निर्माण
जेठ–१८ अमेरिकामा वैज्ञानिकहरुले एन्टिबायोटिक प्रतिरोधी बन्दै गएको जीवाणुलाई मार्न सक्नेगरी सो औषधीको नयाँ रुप विकास गर्न सफल भएका छन्। उनीहरुले एन्टिबायोटिक प्रतिरोधी संक्रमणविरुद्ध लड्ने दिशामा ठूलो प्रगति भएको बताएका छन्।
अनुसन्धानकर्ताहरुले हाल प्रयोगमा रहेको भेन्कोमाइसिन एन्टिबायोटिकलाई परिष्कृत गर्न सफल भएका हुन्। विगत ६० वर्षदेखि प्रयोग गरिँदै आएको सो औषधी हाल निष्प्रभावी बन्दै आएको थियो।
भेन्कोमाइसिनले मुत्रनली र घाउमा संक्रमण गराउने ब्याक्टेरियाविरुद्ध लड्ने क्षमता गुमाउँदै गएको थियो। नयाँ औषधि पहिलाको एन्टिबायोटिकभन्दा एक हजार गुणा बढी शक्तिशाली रहेको बताइएको छ।
संक्रमणविरुद्ध एन्टिबायोटिक निष्प्रभावी बन्दै जानुलाई विश्व स्वास्थ्य संगठनले ठूलो चुनौती मान्दै आएको थियो। एन्टिबायोटिक प्रतिरोधी जीवाणुविरुद्ध लड्नसक्नेगरी औषधीको परिष्करण हुनुलाई चमत्कारिक उपलब्धिको रुपमा व्याख्या गरिएको छ। एजेन्सी