समाज

भूमे देवतालाई खुसी बनाउन लिंगो जुधाइ

भूमे देवतालाई खुसी बनाउन लिंगो जुधाइ

जेठ १८ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिंगो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ । प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मंगलबार दुई गाउँबीच लिंगो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो ।

दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेको लिंगो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पताकाले सिंगारिएको अग्लो बाँसको लिंगो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराइएको थियो ।

स्थानीय पुख्र्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवबीच स्थानीयवासीले मंगलबार बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि लिंगो जुधाएका हुन् । अग्ला अग्ला सिंगारिएका लिंगोलाई प्रतिस्पर्धामा ल्याएकामा यो वर्ष दुवै लिंगो बराबर अग्लो भएका कारण दुवै गाउँ विजयी भएको एकता युवा क्लब, दग्नामका अध्यक्ष गुन पुन ‘गुञ्जन’ले जानकारी दिए ।

गतवर्ष पनि दुवै गाउँको लिंगो जुधाइ बराबरी नै भएको थियो । लिंगो जुधाइलाई रमाइलोसँगै गाउँको प्रतिष्ठालाई जोडिएर हेर्ने भएकाले दुवै गाउँका स्थानीयवासीले निकै मिहेनत गरी अग्ला लिंगो सिंगारेर प्रतिस्पर्धामा लैजाने चलन रहेको छ ।

जेठा भूमेका रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मंगलबारको दिन वर्षभरिको खेतीबाली राम्रो होस, बाढी, भूक्षयजस्ता प्राकृतिक प्रकोपको सृजना नहोस् भनी स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौंदेखि भूमे देवताको पूजा गर्दै आएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए ।

भूमे देवतालाई जति खुसी बनाउन सकिन्छ, त्यति नै प्रकृतिले साथ दिने भएकाले पहिलेदेखि नै गाउँमा भूमे पूजा पर्वका अवसरमा स्थानीय दुई गाउँबीच लिंगो जुधाउने प्रतिस्पर्धा हुन थालेको उनको भनाइ छ ।

दग्नामवासीको महत्वपूर्ण पर्व भएकाले भूमे पुजा पर्व मनाउन देश तथा विदेशमा रहेका स्थानीयवासीसमेत घर फर्कने हुँदा यो पर्वले आफन्तको जमघट गराउने महत्वपूर्ण माध्यम बनेको स्थानीयवासी बताउँछन् ।

भूमे पूजाका अवसरमा स्थानीयवासीले एकै दिन सामे भूमे, सिद्ध भूमे, दवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरेका छन् ।
यसैबीच, मंगलबारदेखि एकता युवा क्लब दग्नामको आयोजनामा भूमे पूजाको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक मेलासमेत सुरु भएको छ । मेलामा पुरुष बास्केटबल, भलिबल, महिला भलिबललगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ ।

bhume parba

विशेष