उदयपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढे
उदयपुरः सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् ।
नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसर वरपरसमेत पार्टीका झन्डा र ब्यानर राखेको पाइएको छ ।
निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेकोछ । तर यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन् । 'चियापसलदेखि व्यापारीलाई समेत टिसर्ट लगाउन लाउने गरेका छन्,' गाईघाटका व्यवसायी ध्रुव राउतले भने ।
यस्तै राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन् । त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदन्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताए । सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराइने उनको भनाइ छ ।
गाईघाटका व्यवसायी विनोद साह भने, 'मेरो घरको अगाडि आएर सबै राजनीतिक दलले झन्डा गाडेर गएका छन्, मलाई नसोधी मेरो घरको दलानमा झन्डा गाडेका छन्, यसले मलाई पनि असर गरेको छ ।'
सर्वसाधरणलाई अहिले राजनीतिक दलले टिसर्ट वितरण गर्न थालेका छन् । सवारी चालक, होटल मजदुरदेखि घर निर्माणमा संलग्न मजदुरलाई समेत राजनीतिक दलले टिसर्ट वितरण गरेको पाइएको छ ।