मुख्य समाचार

 ‘भूकम्पपीडितको रकममा समेत घुस’

 ‘भूकम्पपीडितको रकममा समेत घुस’

 

काठमाडौँ: भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले मानवीय संवेदनालाई समेत ख्याल नगरी प्राकृतिक प्रकोपमा परेका नागरिकसँग पनि घुस मागिनु सबैभन्दा दुःखद् रहेको बताउँदै घुस लिने तथा दिने दुवैलाई कानुनको दायरामा ल्याइने र कुनै छुट नदिइने स्पष्ट गरे । उनले भूकम्पपीडितको राहत रकममा नै घुस माग्ने सरकारी कर्मचारीको नाम भने बताउन चाहेनन्।

‘घुसको कसुरमा रङ्गेहात पक्राउ, अनुसन्धान र अभियोजन गर्नेसम्बन्धी निर्देशिका, २०७३’ अनुसार चालु आवको हालसम्म पाँच उपसचिव, १५ शाखा अधिकृत, ३४ नासु, नौ ओभरसियर, अमिन र खरिदार, सात लेखापढी व्यवसायी, दुई घुस दिने व्यक्ति, दुई कार्यालय सहयोगी, एक कुल्ली पाँचाँै तह र एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी ७६ जना थलोमै पक्राउ परेका छन् ।

त्यसमा नापी र मालपोत कार्यालयका मात्रै १४ कर्मचारी छन् । नापी र मालपोत कार्यालयका कर्मचारी बढी पक्राउ पर्नाका कारणमा ती कार्यालयमा रहेको कमजोर नीतिगत व्यवस्था र कार्यविधि, अभिलेख दुरुस्त नहुनु तथा कार्यसञ्चालन पूर्ण रुपमा परम्परागत रहनु रहेको सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।

आयोगमा आउनुअघि आफू मालपोत कार्यालयमा कार्यरत रहेको अनुभवका आधारमा कर्मचारीको नियतमा रहेको खोट तथा सेवा प्रवाह प्रणालीमा रहेको परम्परागत मान्यताका अनुसार ती कार्यालयमा बढी घुस चल्ने गरेको सहायक प्रवक्ता रिजालको भनाइ छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विजय थापाले घुस दिँदादिँदै रङ्गेहात पक्राउ परेका कर्मचारी र उनीहरुको प्रवृत्तिका बारेका कार्यपत्र प्रस्तुत गरेका थिए।

विशेष