मुख्य समाचार पर्यटन

हिउँले खाएका दावा भन्छन् ‘म त १२ घण्टा मरेछु

हिउँले खाएका दावा भन्छन् ‘म त १२ घण्टा मरेछु

जेठ २९ । सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो ।


आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी हिँड्नै सकेनन् । ‘उनी हिँड्न सकेनन्, मैले बोक्न पनि सकिनँ,’ शेर्पाले सम्झिए । त्यसपछि उनीहरू दुवै जनाले ८ हजार ६ सय मिटरको बालकोनीनजिकै रात बिताउनुप¥यो ।

‘म सहजै झर्न सक्थें तर ६० वर्षीय आरोही अब्दुललाई छाडेर झर्न चाहन्नथेँ,’ उनले भने, ‘पछि उनी अचेत नै भए– मरेतुल्य ।’ त्यसपछि एजेन्सीको सम्पर्क छुटेका उनीहरूलाई यसै पनि मरेको ठानियो ।

अब्दुल हिँड्न नसकेपछि साउथकोलदेखि २२ घन्टा लगाएर भए पनि चुचुरो पुग्न सफल भए उनीहरू । जेठ ७ गते दिउँसो ३ बजे सगरमाथा चुचुरोमा पाइला टेकेका उनीहरू झर्ने क्रममा अब्दुल अस्वस्थ भएपछि ८ हजार ६ सय मिटर बालकोनी पुग्दा साँझको ८ बज्यो ।

‘जसोतसो टर्चलाइट बालेर झर्दा भाटी हिँड्नै सकेनन्, म पर्खेर बसिरहेँ, त्यसै समयमा मेरो हात हिउँले पूरै खाइदियो । त्यसपछि रात छिप्पिँदै गएपछि म पनि चिसोले अचेत बनेछु, त्यसपछि मैले केही थाहा पाइनँ,’ उनी आफ्नो ‘मृत्यु’ भएको त्यो क्षण सम्झन्छन् ।

जाँदै मौसम बिग्रँदै गएको थियो । दाबाले पटकपटक फर्कन अनुरोध गरे पनि तर अब्दुलले आरोहण नगरी नफर्किने जिद्दी गरे तर हिँड्नै सकेनन् । ‘त्यही हाम्रो कमजोरी थियो,’ दावाले भने । आफूले प्रयोग गर्न लगेको दुई सिलिन्डर अक्सिजनसमेत अब्दुललाई नै प्रयोग गर्न दिएपछि उनी त बाँचे तर दाबा आफैं भने चिसो सहन नसकी अचेत भए ।

‘चुचुरोमा पाइला टेकेको खुसी त थियो नै तर मौसम खराब भएर हावाहुरी चल्न थालिसकेको थियो, हामीले प्राविधिक कमजोरी गरेकै थियौँ तर उसको कमजोरीले म पनि झन्डै मरेँ, सम्झिँदा आँसु आउँछ,’ दावाले अनुहार मलीन पार्दै भने ।

१२ घन्टापछि बिहान ८ बजेतिर शेर्पा खाङग्री आउटडोर कम्पनीका आरोही गाइड आङछिरिङ लामा, निमाग्याजेन र जाङबु शेर्पाले बालकोनीदेखि ७ हजार ९ सय मिटरको साउथकोलसम्म उनीहरूको रेस्क्यु गरे । ‘पछि थाहा भयो, म १२ घन्टा मरेको रहेछु,’ दावाले भने ।

सेभेन समिट ट्रेकिङका आरोही गाइडले साउथकोलदेखि क्याम्प दुईसम्म दावा र अब्दुलको रेस्क्यू गरेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उनीहरूको उद्धार गरिएको थियो । ‘जीवन बाँचे पनि दुवै हातका औँला हिउँले खाइदियो, अबको दिन कसरी बिताउने रु’ उनी चिन्तित देखिए । आफूले प्रयोग गरेको अक्सिजनसमेत दिएर बचाएको पाकिस्तानीले फर्केर गएपछि कुनै सम्पर्क नगर्दा उनलाई नमीठो लागेको छ ।

अन्नपूर्ण

विशेष