स्वास्थ्य मुख्य समाचार व्यापार

ससेजमा प्राणघातक सोडियम नाइट्रेड

मरेको कुखुराको मासु पनि विक्री

ससेजमा प्राणघातक सोडियम नाइट्रेड

जेठ २९ । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ ।

नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो । मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यमा पर्ने अवस्थाप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।

अनुगमन टोलीमा रहेका चिकित्सक डा. आभास पौडेलका अनुसार, मासुमा सोडियम नाइट्रेट मिसाउनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको हदैसम्मको लापर्बाही हो । यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न । अनुगमनका क्रममा बाँनियाटारको सगरमाथा मिट प्रोडक्सनले सोडियम नाइट्रेट नामक विषादी मिसाएको पाइएको हो । त्यहाँ भेटिएको सो रसायनको बट्टामा नै भयंकर प्राणघातक भनेर लेखिएको छ । त्यसमा नाङ्गो हातले छुनु पनि भयंकर घातक भनेर उल्लेख गरिएको छ। ‘यी हेर्नुहोस्, रसायनको बट्टामा नै खतराको संकेत दिइएको छ । नांगो हातले समेत छुन नमिल्ने लेखिएको छ । यस्तो रसायन मासुमा मिसाइएको छ, यो उपभोक्ताको स्वास्थ्यमाथि हदैसम्मको लापरबाही हो,’ डा. पौडेलले विषादीको बोतल देखाउँदै भने । सो मिट प्रोडक्टले ससेजमा प्राणघातक सोडियम नाइट्रेट मिसाउने गरेको पाइएको छ ।

सोडियम नाइट्रेटले ससेजलाई लामो समयसम्म दुरुस्त राख्न सघाउने भएकाले पाँच किलो ससेजमा सय ग्राम मिसाउने गरेको व्यवसायीले स्वीकार गरेका छन् । अनुगमन टोलीका अनुसार सगरमाथा मिट प्रोडक्सनले ससेज बनाउँदा कुहिएको मासु प्रयोग गर्ने गरेको, लेबल नै नभएका मसला प्रयोग गरिएको, खाद्य अनुमति पत्र नलिएको, सोयाविन मस्यौरा प्रयोग गरी ससेज बनाएको र उत्पादन स्थल अत्यन्त फोहोर रहेको भेटिएको थियो ।

यस्तो कैफियत भेटिएपछि सो मिट प्रोडक्सनमा सिलबन्दी गरिएको छ। त्यहाँबाट सोडियम नाइट्रेट नामक रसायनको एक बट्टा, गन्हाएको कुहिएको मासु २ सय ग्राम र ४ सय ८० ग्रामका एक एक प्याकेट बफ ससेज र चिकेन ससेज नमुना परीक्षणका लागि ल्याइएको छ । विभागले आइतबार नै गोगंबुको केसी चिकेन स्टोर, मनकामना मार्केटिङ स्टोरमा पनि अनुगमन गरेको थियो । केसी चिकेन स्टोरले खाद्य अनुमतिपत्र नलिई करोबार गरिरहेको र मरिसकेको कुखुराको मासु बिक्री गर्ने गरेको पाइएको छ । सो स्टोरबाट मरिसकेका कुखुराको ११ किलो मासु नष्ट गरिएको छ ।

अनुगमन टोलीले केसी चिकेन स्टोरमा पनि सिलबन्दी गरेको छ । मनकामना मार्केटिङ स्टोर अत्यन्त फाहोर रहेको, त्यहाँबाट खान अयोग्य ५ किलो मासु नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मरिसकेको कुखुराको मासु विक्री वितरण गर्नु आम उपभोक्ताको जीवनमाथि सोझै खेलवाड भएको बताए ।

राजधानी 

विशेष