स्वास्थ्य

'नेपाल बर्डफ्लु मुक्त '

'नेपाल बर्डफ्लु मुक्त '

जेठ २९ । सरकारले नेपाल बर्डफ्लु मुक्त मुलुक भएको घोषणा गरेको छ । पशुपन्छी विकास मन्त्रालयले नेपाल बर्डफ्युको संक्रमण मुक्त भएको दाबी गरेको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्रालयका सचिव युवकध्वज जीसीले बर्डफ्युको संक्रमणबाट मुलुक मुक्त भएकाले ढुक्कसाथ कुखुराको मासु सेवन गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बर्डफ्युको संक्रमणबाट मुलुक पूर्णरूपमा मुक्त भइसक्यो । अब कुखुराको व्यवसाय र कुखुराको मासु ढुक्कका साथ सेवन गरौं ।

मन्त्रालयले पोखरा र सुनसरीमा पछिल्लो समयमा पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसारमा लगाएको प्रतिबन्ध र ती दुवै क्षेत्रमा घोषणा गरिएको संकटग्रस्त क्षेत्र पनि फुकुवा गरेको छ । पछिल्लो समयमा दुई वर्षपछि २०७३ फागुन १२ गते पोखरा उपमहानगरको खाल्टे मसिनामा हाँसमा बर्डफ्युको संक्रमण भेटिएको थियो । यसैगरी सुनसरीको इटहरी नगरपालिकाको खनारमा पनि २०७३ फागुन २५ गते कुखुरामा बर्डफ्युको संक्रमण फेला परेको थियो।

‘ती दुवै स्थानमा बर्डफ्युको संक्रमण पुष्टि भएपछि मन्त्रालयस्तरबाट संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाएको थियो, सचिव जिसीले भन्नुभयो, ‘ती दुवै स्थानलाई लामो समयसम्म सघन निगरानीमा राखेर पुनः नमुना परीक्षण गर्‍यौं । अहिले ती दुवै स्थानमा बर्डफ्युको संक्रमण नभेटिएका कारण संकटग्रस्त क्षेत्रका साथै ओसारपसारमा लगाइएको प्रतिबन्ध फुकुवा गरेका छौं ।

बर्डफ्युको संक्रमण भेटिएपछि सरकारले पोखराबाट एक हजार दुई सय ९४ वटा पन्छी, ४५ थान अन्डा, सात सय किलो दाना र ५४ किलो मासु जफत गरी नष्ट गरेको थियो । पोखरामा पीडित किसानलाई बजार मूल्यको ७० प्रतिशतको आधारमा एक लाख ३० हजार सात सय २५ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो । यस्तै सुनसरीमा दुई हजार पाँच सय ५० पन्छी, पाँच सय ३६ थान अन्डा र दुई सय किलो दाना नष्ट गरी पीडित किसानलाई तीन लाख ३८ हजार चार सय ८८ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको थियो ।

नेपालमा सबैभन्दा पहिले २०६५ मा झापाबाट बर्डफ्युको संक्रमण फैलिएको थियो । यसको प्रकोप अघिल्लो आर्थिक वर्ष २०७०÷७१ सम्ममा देखापरेको थियो । यो रोग विश्वका ७७ वटा मुलुकमा देखापरिसकेको छ । हालसम्म यो रोगबाट आठ सय ५९ जना संक्रमणमा परी चार सय ५३ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म बर्डफ्युका कारण कसैको मृत्यु भएको छैन ।  नेपालमा सबैभन्दा पहिले २०६५ मा झापाबाट बर्डफ्युको संक्रमण फैलिएको थियो ।

अन्नपूर्ण

विशेष