बलिउड छिरेका ‘तक्मे बुढो’ भन्छन्, ‘केही रकम समाजसेवामा पनि खर्चिएको छु ’ (भिडियोसहित)
सागर बुढाथोकी
मेरी बास्सैको ‘तक्मे बुढो’ विल्सन बिक्रम राई नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट पर्दामा देखिएका उनी ‘तक्मे बुढो’ को उपनामबाट चर्चित छन् । कलाकारितामा प्रवेश गर्न लामो संर्घष गरेका उनले मेरी बास्सैबाट चर्चामा आएपछि पछाडि फर्केर हेर्नुपरेको छैन् ।
एक दर्जनभन्दा बढी नेपाली चलचित्र, विदेशमा गरेका सयौँ शोबाट उनी राम्रो कमाई गर्ने नेपाली कलाकारमा पर्छन् । अभिनयसँगसँगै गायनमा पनि सक्रिय उनको गित ‘सेन्तेरेम’ चर्चामा छ । अहिले उनी निर्माता बनेर ‘रातो घर’नामक चलचित्र लिएर आएका छन् । उक्त चलचित्र अहिले पर्दशन भइरहेको छ ।
चलचित्र पर्दशनकै क्रममा माइतीघरमा भेटिएका राई ‘रातो घरको’ बाट आएको प्रतिक्रियालाई लिएर उत्साहित छन् । चलचित्रमा सफल हुदैँ गरेका उनी आफ्नो विगतको संर्घष खेर नगएको बताउछन् ।
विल्सनले जीवनमा जति उतारचढाव बेहोरे, त्यति अरूले कमै भोगेका होलान् । कलाकारिता भनेपछि मरिमेट्ने स्वभाव रहेको उनी स्विकार गर्छन् । करिब २० वर्षअघि ‘साथी’ फिल्ममा बालकलाकारको रूपमा देखिएका विल्सन अहिले बलिउडसम्म पुगिसकेका छन् ।
निर्देशक विनय शर्माको निर्देशनमा बनेको सिनेमा ‘भाई मस्ट बी क्रेजी’ मा विल्सनले अभिनेता शाहिद कपूर, सुनिल ग्रोभरलगायतका कलाकारहरूसँग काम गरिेका छन् । उनको कामको चलचित्र निर्देशक शर्माले तारिफ गरेका थिए । मनीषा कोइराला, सुनिल थापा, मुरलीधरजस्ता धेरै कलाकारले झैं यिनले पनि बलिउडमा पाइला टेकेका छन् । सफल हुने या नहुने त्यो समयले बताउने छ ।
यिनको पछिल्लो फिल्म ‘बोरिभाली का ब्रुस ली’ रिलिजको तयारीमा छ । आयशा टाकियासँग अभिनय गरेका उनले फिल्मको टिजरमा राम्रो स्थान पाएको देखिन्छ । सिनेमाका चौकीदारसँगै कराते प्रशिक्षकको भूमिकामा अभिनय गरेका उनी उक्त चलचित्रको लागि धेरै मेहनत गरेको बताउछन् ।
विल्सनलाई बलिउडमा फिल्म खेल्ने मौका एउटा सांगीतिक समूहले दिलाएको हो । केही समयअघि नेपालमा कन्सर्टका लागि आएको टोलीका एक जना सदस्यले विल्सनलाई फिल्मका लागि सिफारिस गरेका थिए । उनले अर्की नायिका विपाशा वासुसँग पनि अभिनयको अवसर पाएका छन् । विपाशासँगको फिल्म खेल्ने मौका कलाकार सुनिल थापाले जुराइदिएका हुन् । एक चरण सुटिङ भएर रोकिएको फिल्म आगामी वर्ष रिलिज हुने अनुमान छ । उक्त चलचित्रमा उनको महत्वपूर्ण भुमिका रहेको बताउछन् ।
विल्सन भर्खरै गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भए । ‘जनसेवा’ पदक पाएपछि विल्सन आफुमा जिम्मेवारी बढेको बताउछन् । चलचित्र ‘सम्झना’ मा तेस्रोलिंगीको भूमिका गरेका विल्सनले ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘कसले र्चोयो मेरो मन’, ‘मेरो प्यारो माइतीघर’, ‘बस नं. १३६’, ‘छ एकान छ’, ‘सायद’, ‘अर्धकट्टी’, ‘वान वे’, ‘सम्झना’, ‘रिदम’, ‘फेसबुक’, ‘नेपथ्य’ जस्ता अब्बल फिल्ममा काम गरिसकेका छन् ।
रातो घरमा विल्सन झखमले क्यारेक्टरमा देखिएका छन् । चलचित्रमा गुलेली ग्यांगको समुहको एक सदस्य रहेका उनको अभिनयलाई निकै नै मन पराइएको छ । पहिला ‘तक्मे बुढो’ भनेर चिनिने उनलाई अहिले ‘झखमले’भनेर बोलाउन थालिएको छ । उनी भन्छन्, ‘मेरो परिचय फेरिदै गएको महशसुस भएको छ । तक्मे जस्तै झखमलेपनि हिट छ ।’
गाउँघरतिर झखमले भनेको अत्यन्तै रिष्टपुष्ट खान लायकको जनावरलाई भनिन्छ । विल्सन सानो छदाँ गाउँमा झखमले भनेर नजिको आफन्त पर्नेलाई जिस्काउथे । त्यतिबेलादेखि नै उनलाई त्यो नामले छोएको थियो । अहिले त्यही क्यारेक्टरलाई आफुले चलचित्रमा प्रयोग गरेको बताउछन् ।
उनी कलाकारितामा क्षेत्रमा रहेकोमा खुसी छन् । हिजोको मेहनतले सार्थकता पाउदाँ धेरै नवप्रवेशी कलाकारहरुको प्रेरणाको स्रोत बनेका छन् । उनी भन्छन्, ‘ वर्षमा एउटा राम्रो सिनेमा बनाउने ईच्छा थियो । रातो घरको प्रतिक्रियाले त्यो ईच्छा पुरा गर्ने हिम्मत दिएको छ ।’
विल्सन देशविदेशमा कार्यक्रम गरेर आएको केही रकम समाजसेवामा पनि खर्च गर्ने बताउछन् । विभिन्न संघसस्थाको सहयोगको लागि उनले कार्यक्रम पनि गर्छन् । ‘आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ भन्ने लाग्छ ।’ उनी थप्छन्, ‘सकुन्जेल मागेर हैन, दिएर खानुपर्छ ।’